समीक्षास्थानीय

षडानन्दको खकुवा खोलामा झोलुङ्गे पुल

भोजपुर, २२ चैत : फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द–७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।

पुल निर्माणले वर्षौँदेखि भोग्दै आएको समस्याको अन्त्य भएको वडा नं ७ का स्थानीय दीपबहादुर मगरले बताउनुभयो । बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेकामा अब समस्या अन्त्य भएको उहाँको भनाइ छ ।

पुल निर्माण भएर उद्घाटन भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको मगरले बताउनुभयो । “यो खोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “पुल निर्माण भएपछि अहिले सहज भएको छ ।” नगरपालिकाको पहलमा पुल निर्माण भएको उहाँको भनाइ छ ।

यसअघि वर्षाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय खेतमा नै बास बस्नुपर्ने अवस्था समेत आएको स्थानीय चतुरमाया मगरले बताउनुभयो । पुल निर्माणसँगै खोला खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या अन्त्य भएको उहाँको भनाइ छ ।

“खोलापारि खेत छ”, चतुरमायाले भन्नुभयो, “दैनिकजसो खेतीमा आउनुपर्छ । खोलापरि जान काठको फट्के थियो । त्यो फट्के पनि ठूलो खोला आउँदा बगाउथ्यो । पुल बनेपछि हामीलाई सहज भएको छ ।”

रु ४८ लाख १२ हजार आठ सय २५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिनुभयो । पुल निर्माणमा नगरपालिकाको रु छ लाख २५ हजार छ सय ६७, सङ्घीय सरकारको रु १९ लाख ५१ हजार दुई सय ९१ र बाँकी रकम स्थानीयको जनश्रमदान र सेतो गुराँस संस्थाले लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवा खोलामा झोलुङगे पुल निर्माण गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । उहाँका अनुसार योसँगै हालसम्म नगरपालिकाको पहल तथा लगानीमा सातवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

प्रमुख उदासले नगरपालिका क्षेत्रमा आवश्यक पर्ने झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको अघि बढाइएको बताउनुभयो । आगमी आर्थिक वर्षमा थप चारवटा पुल निर्माण हुने उहाँको भनाइ छ ।

“हामीले स्थानीयको आवश्यकताका आधारमा विकासका गतिविधिलाई अघि बढाएका छौँ”, प्रमुख उदासले भन्नुभयो, “नगरको पहलमा सातवटा पुल निर्माण भएका छन् । एउटा अन्तिम चरणमा छ । आगामी वर्ष थप चार झोलुङ्गे पुल निर्माण गर्छौँ । हामीले नागरिकलाई स्थानीय सरकार छ भन्ने आभास हुनेगरी गतिविधि बढाएका छौँ ।”

पुल निर्माणले आफ्ना वडाका तीन सय बढी नागरिकलाई राहत मिलेको वडा नं ७ का वडाध्यक्ष दिपेश विष्टले बताउनुभयो । पुल निर्माणका लागि सेतो गुराँस बाल तथा सामुदायिक विकास भोजपुरले प्राविधिक तथा सामाजिक सहयोग गरेको उहाँको भनाइ छ ।

विसं २०८० जेठ ९ मा सम्झौता भएको थियो । नवनिर्मित पुलको एक कार्यक्रमका बीच हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उद्घाटन गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button