समाचार

धनकुटामा मुख्यमन्त्री कार्कीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोशी प्रदेशका खेलाडी र प्रशिक्षक पुरस्कृत

धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर, अमिसा कार्की, हिरा कुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, अन्जिला तुम्बाप्पो, सहित प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजारका दरले सम्मान गरिएको छ ।

यसैगरी मलेसियामा सम्पन्न भएको आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद ५० हजार सहित सम्मान गरिएको छ ।

यस्तै, मुख्यमन्त्री कार्कीले चीनमा सम्पन्न भएको १९ औँ एसियाली गेम्समा महिला कबड्डीतर्फका कास्य पदक विजेता मुख्य प्रशिक्षक पार्वती राई सहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई नगद २÷२ लाख सहित सम्मान गरेका छन् । सोही प्रतियोगितामा रजत पदक विजेताका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठलाई समेत नगद २ लाख र कदर पत्रसहित सम्मानित भएका छन् ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेटको प्रबन्ध गरेको उल्लेख गरेका हुन् । खेल कक्षाकोठा बाहिरको सिकाइका साथै रोजगारीको श्रोत पनि भएकाले सरकारले प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तराष्ट्रियस्तरमा भएका खेलका बिजेताई सम्मान गर्ने कार्य योजना बनाएको मुख्यमन्त्री कार्कीले बताएका छन् । उनले प्रदेश खेलकुद विकास बोर्डले स्पष्ट कार्य योजना बनाएर अन्तर्राष्ट्रिय खेलमा पदक जित्ने खेलाडी उत्पादनका लागि आएको अवस्थामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button