आदिवासी

संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण

धुलिखेल (काभ्रेपलाञ्चोक), १९ फागुन : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ ।

लोपोन्मुख हायू समुदायको संस्कृति संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार उक्त समुदायले विभिन्न कार्यमा प्रयोग गर्ने सांस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा, खोडा, धनुष र तीर दुई÷दुई जोर, घण्टा र पुजारी पोसाक एक÷एक जोर, महिला तथा पुरुषका लागि गहनासहितका पोसाक १० थान हस्तान्तरण गरिएको हो ।

जिल्लाको रोशी गाउँपालिकास्थित वाल्टिङमा रहेको उक्त समुदायको संरक्षणका लागि पालिकाले सहयोग गर्दै आएको छ । यसपटक सांस्कृतिक बाजा खरिदका लागि रु दुई लाख बजेट व्यवस्थापन गरी भूमेस्थान हायू समाजको आयोजना तथा गाउँपालिकाको सहयोगमा उक्त सामग्री सामग्री हस्तान्तरण गरिएको पालिका अध्यक्ष लामाले बताउनुभयो । हायू समुदायको संरक्षणका लागि पालिकाले सहयोग जारी राख्ने उहाँको भनाइ छ ।

“हायू समुदायको संस्कृति राज्यको सम्पत्ति हो । यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्छ”, अध्यक्ष लामाले भन्नुभयो, “भएका सम्पत्तिको संरक्षण र सवद्र्धनमा हामी सधैँ लागिरहेका छौँ ।” हाम्रो समाज विविधतायुक्त रहेको उल्लेख गर्दै उहाँले समाजमा रहेका जातीय, भाषिक तथा सांस्कृतिक संरक्षणका लागि सबै समुदायको सहयोग आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

हायू एकता समाजका केन्द्रीय अध्यक्ष लक्ष्मण हायूले आफ्नो समुदायको अभिभावक सरकार भएकाले त्यसको अनुभूति समुदायलाई गराउन राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले स्थानीय सरकार भएको अनुभूति दिलाएको बताउँदै उहाँले सहयोगको निरन्तरताको माग गर्नुभयो ।

विकासको सूचाङ्कका हिसाबले हायू समुदाय पछाडि परेको भन्दै अध्यक्ष लक्ष्मण यो समुदायलाई पहुँचमा पु¥याउन राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । “हायू समुदायको आफ्नै भाषा, लिपि र संस्कृति छ । लोपोन्मुख अवस्थामा पुगेको यो समुदायको भाषा र संस्कृति संरक्षणमा स्थानीय, प्रदेश र सङ्घ सरकारले योजना बनाएर काम गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

रोशी–१० का वडाध्यक्ष विकेन लामाले हायू समुदायको विकासका लागि वडा र गाउँपालिकाले गर्नुपर्ने सहयोग सदैव रहने बताउनुभयो । यो समुदायले आफ्नो भाषाको संरक्षण र प्रवद्र्धनका लागि समुदायका बालबालिका शिक्षित हुनुपर्ने भन्दै उहाँले हायू एकता समाजलाई भाषा र शिक्षा सिक्न आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष आरती हायूको सभापतित्वमा भएको कार्यक्रममा पूर्ववडाध्यक्ष दूधराज घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगर, समाजका सचिव सुजन हायू, भूमेस्थान हायू समाजका पूर्वअध्यक्ष दूधराज हायुलगायतले हायु समाजलाई राज्यको मूलधारमा ल्याउन सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । विशेष सामग्री पाएपछि हायू समुदायका अगुवाले ढोल, झ्याम्टा र घण्टी बजाएर नाचगान गरेका थिए । रोशी–१० वाल्टिङमा ११ घरधुरीमा करिब ८५ जना हायूको बसोबास रहेको छ ।

Related Articles

Leave a Reply

Back to top button

This will close in 0 seconds