समाचार

नामकरणको आन्दोलनले विस्फोटक रूप लिनसक्छ : उपेन्द्र यादव

ललितपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामकरण हुनु पर्ने माग गरेका छन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशलाई नामकरण गर्न सरकारले ढिलाइ गर्न नहुने उनको भनाई थियो । ‘जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामकरण गर्‍यो, त्यो हामीलाई मान्य छैन’, जसपा अध्यक्ष यादवले भने, ‘नामकरणको विषयमा मधेस प्रदेशबाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’

पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामकरणको आन्दोलनले विस्फोटक रूप लिन सक्ने दाबी गरे । मधेसका जनताको ठुलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेस प्रदेश सम्भव भएको स्मरण गर्दै उनले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए ।

मधेसी, आदिवासी जनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानका लागि संयुक्त रूपमा संघर्ष गर्नुपर्नेमा उनले जोड दिए । ‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिका लागि सबै उपेक्षित जनता एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।

Related Articles

Leave a Reply

Back to top button