समाचार

संस्कृत भाषा ज्ञानको भण्डार हो – मन्त्री राई

धरान (सुनसरी), १ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक अनावरण तथा प्रतीक्षालय हस्तान्तरण समारोहमा मन्त्री राईले संस्कृत भाषाको संरक्षणसँगै व्यावहारिक रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले संस्कृत भाषालाई संरक्षण गर्दै यसमा दक्खल राख्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

“संस्कृत भाषाको महत्त्व सधै थियो र रहन्छ । यसमा धेरै ठूलो ज्ञानको भण्डार लुकेको छ”, मन्त्री राईले भन्नुभयो, “संस्कृतका ग्रन्थबाट हामीले ज्ञान, विज्ञान र प्रविधिका धेरै कुरा सिक्न सक्छौँ ।”

उहाँले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले यसबाट पूर्वीय दर्शनसँगै विज्ञान र धेरै सिद्धान्तका कुरा बुझ्न सकिने बताउनुभयो । उहाँले संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री राईले विद्यापीठको प्राङ्गणमा पूर्वीय विद्धान तथा समाजसुधारक छविलाल पोखरेलको सालिक अनावरण गर्नुभएको थियो । उहाँले पोखरेलले समाजमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

सो अवसरमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले प पोखरेल समाज सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै उहाँको व्यक्तित्वको चर्चा गर्नुभयो । प्रदेशसभा सदस्य विजयकुमार राई र निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राईले पण्डित पोखरेलले समाजमा पुर्‍याएको योगदानबारे प्रशंसा गर्नुभएको थियो । कार्यक्रम भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Back to top button