समाचार

सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ, २७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाइनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारी, निजीलगायत सबै क्षेत्रमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

“हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो हो, तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्या बनेको छ”, मन्त्री शर्माले भन्नुभयो, “सरकारी क्षेत्र–क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायत धेरै समस्या देखिएका छन् ।”

परिवर्तित राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य शर्त हो ।”

कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि क्षेत्रको विकासबाट मुलुकको समृद्धि सम्भव रहेको जनाउँदै उहाँले यी क्षेत्रमा उत्पादन वृद्धि गरेर त्यसबाट आउने प्रतिफलको हिस्सेदार आमजनतालाई बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “दलाल पूँजीवादले राज्य वा सार्वजनिक सम्पत्तिको दोहन र जनताको श्रमको शोषण गरेर त्यसबाट प्राप्त प्रतिफल निश्चित व्यक्तिले बाँड्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छ तर त्यसको ठीक विपरीत सामूहिक लगानी र सामूहिक प्रतिफलमा आधारित राष्ट्रिय पूँजीको निर्माण गर्दा समाजवादी अर्थतन्त्रको आधार तयार पार्न सकिन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।”

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पूँजीपतिको आत्मविश्वास बढाउँदै उनीहरुलाई लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने र त्यसका लागि सरकार लागिपरेको मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।
–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button