NRNA Special

नेपाल सरकारको कोषमा रकम पठाउनुभन्दा वास्तविक पीडितसम्म प्रत्यक्ष राहत पुर्‍याउन आग्रह’ — अध्यक्ष प्रेम गाहा मगर

नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी रसुवा–नुवाकोट भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितसँग प्रत्यक्ष भेटघाट तथा राहत वितरण गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र बेलायतस्थित विभिन्न संघ–संस्थाको संयुक्त पहलमा नुवाकोटको विदुर नगरपालिका–५, का दुई स्थान गंगटे पार्कमा वेत्रावतीका बाढीप्रभावित ४० घर र बोगटी पार्कमा रहेको अस्थायी शिविरमा ४७ घर परिवारलाई प्रतिपरिवार नगद रु दश हजारसहित २ सय ७० जनालाई राहत सामाग्री (न्यानो ज्याकेट) वितरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले रसुवा–नुवाकोट भोटेकोशी बाढी तथा पहिरो प्रभावितका लागि कुल १३ लाख ६३ हजार ७९९ रुपैयाँ राहत जम्मा गरेको थियो । व्यक्तिगत सहयोगदाताले संघको बैंक खातामा प्रत्यक्ष जम्मा गरेको रकम २ हजार ९०५.९९ पाउन्ड त्यस्तै, GoFundMe अभियानमार्फत ६४७ पाउन्ड गरी कुल कुल ३ हजार ५५२.९९ पाउन्ड, अर्थात् नेपाली रुपैयाँमा ७ लाख ३५ हजार ४६९ रुपैयाँ प्राप्त भएको एनआरएनए(युके) ले जनाएको छ ।

त्यसैगरी, गाहा मगर परिवार यूकेबाट २ लाख १० हजार रुपैयाँ, Namaste Nepal, Manchester, UK बाट २ लाख ५ हजार रुपैयाँ,Maddat Samuh UK बाट १ लाख ६० हजार रुपैयाँ र NRNA UK Youth Committee बाट ५३ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

८७ परिवारलाई नगद राहत

एनआरएनए यूकेले संकलित राहत रकममध्ये ८७ अति प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले कुल ८ लाख ७० हजार रुपैयाँ नगद राहत वितरण गरेको जनाएको छ । त्यस्तै, प्रभावित परिवारका लागि न्यानो कपडाअन्तर्गत २०० थान ज्याकेटमा ३ लाख ९० हजार रुपैयाँ र ७० थान बालबालिकाका ज्याकेटमा १ लाख १ हजार ५०० रुपैयाँ खर्च भएको छ । कुल २७० थान ज्याकेटका लागि ४ लाख ९१ हजार ५०० रुपैयाँ खर्च गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिए ।

नगद राहत र न्यानो कपडासहित एनआरएनए यूकेले कुल १३ लाख ६१ हजार ५०० रुपैयाँ राहत वितरण तथा खर्च गरेको जनाएको छ । राहत स्वरुप प्राप्त रकममध्ये वितरणपछि २ हजार २९९ रुपैयाँ बाँकी रहेको विवरणमा उल्लेख छ ।

विदेशमा रहेका नेपालीले सरकारको कोषमा रकम पठाउनुभन्दा वास्तविक पीडितलाई प्रत्यक्ष सहयोग गर्न अध्यक्ष प्रेम गाहा मगरकाे आग्रह

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले विदेशमा रहेका नेपाली तथा संघ–संस्थाले विपतका बेला विभिन्न देशमा रहेका एम्बेसीहरू र त्यसमार्फत सरकारी कोषमा मात्र रकम जम्मा गर्नुभन्दा स्थानीय तह तथा सरोकारवालाको सहजीकरणमा प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्नु प्रभावकारी हुने सुझाव दिएका छन् ।

अध्यक्ष गाहा मगरले विगतका ठूला विपतका घटनामा विदेशबाट पठाइएको सहयोग रकम वास्तविक पीडितसम्म पर्याप्त रूपमा नपुगेको दाबी गरे । गोरखा भूकम्प, मेलम्ची बाढी, कोरोना महामारी र जाजरकोट भूकम्पलगायतका विपत्का समयमा गैरआवासीय नेपालीहरूले पठाएको सहयोग अपेक्षित रूपमा पीडितसम्म नपुगेको उनको जिकिर छ ।

नेपालको सरकारी कार्यशैलीमा पारदर्शिताको कमी र बढी प्रशासनिक प्रक्रियाका कारण सहयोगदाता तथा पीडित दुवैको प्रयास प्रभावकारी हुन नसकेको अध्यक्ष गाहाको भनाइ छ । अहिले युवा नेतृत्वमा रहेका सरकारी निकायले पनि विपत् व्यवस्थापनमा ‘फास्ट ट्र्याक’बाट काम गर्न नसकेको उनले बताए ।

अध्यक्ष गाहा मगरले विपत्का समयमा प्राप्त हुने सहयोगलाई छिटो, पारदर्शी र लक्षित वर्गसम्म पु¥याउने व्यवस्था आवश्यक रहेकोमा जोड दिए । राहत वितरणसँगै बाढी प्रभावितहरूसँग गरिएको प्रत्यक्ष साक्षात्कारका क्रममा पीडितहरूले सरकारी निकायबाट अपेक्षाअनुसार सहयोग नपाएको गुनासो गरेका छन् ।

विभिन्न संघ–संस्थाले अस्थायी शिविरमा खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरे पनि स्थायी बसोबासका विषयमा सरकारले अहिलेसम्म स्पष्ट जानकारी नदिएको उनीहरूको भनाइ छ । अस्थायी शिविरमा कति समयसम्म बस्नुपर्ने हो भन्ने अन्योलले आफूहरू थप चिन्तित बनेको पीडितहरूले बताएका छन् ।

बाढीले घर तथा सम्पत्ति बगाए पनि सकेसम्म आफ्नै गाउँठाउँमा फर्किएर बस्न चाहेको उनीहरूको भनाइ छ । यदि पुरानै ठाउँमा बस्न सम्भव नभए पनि आफ्नै जिल्लामा आफ्नो समुदायसँगै पुनःस्थापना गरिदिए सहज हुने प्रभावितहरूले बताएका छन् ।

बाढीका कारण परिवारका महत्वपूर्ण सदस्य गुमाएका परिवारलाई सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्ने तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने मागसमेत उनीहरूले गरेका छन् ।

पीडितहरूले सरकारी कोषमा अर्बौं रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भए पनि आफूहरूले पाउनुपर्ने राहत रकम अझै प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। बाढीपीडितका लागि भन्दै सर्वसाधारणले आफ्नो गास काटेर दिएको रकम सरकारी कोषमा जम्मा भएर बस्ने तर वास्तविक पीडितको हातसम्म नपुग्नु दुःखद् भएको उनीहरूको भनाइ छ ।

त्यस्तै मगर संघ यूके यूएचएसबी शाखा – पितृ पूजा कोष यूके÷ ओमप्रसाद थापा ‘काउचा’, मगर संघ यूके यूएचएसबी शाखा महिला समिति र काउचा परिवार युकेको संयुक्त सहयोगमा नेपाल मगर संघमार्फत ४० घरपरिवारलाई प्रति परिवार रु. १०,००० का दरले जम्मा रु. ४,००,००० (चार लाख रुपैयाँ) नगद राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रिय समितिले राहात वितरणमा सहजीकरण गरेको थियो ।

Related Articles

Back to top button