मेडवेमा गोर्खा नेपाली कम्युनिटीद्वारा सरसफाइ र ज्येष्ठ नागरिकसँग चियापान कार्यक्रम सम्पन्न

मेडवे (बेलायत) — गोर्खा नेपाली कम्युनिटी मेडवेको आयोजनामा बेलायतको मेडवेस्थित जिलिङ्घाम टाउनको ग्रेट लाइन हेरिटेज पार्कमा सरसफाइ (लिटर पिकिङ) तथा ग्याम्पर्ड सेन्टर, जिलिङ्घाममा भूपू सैनिक तथा ज्येष्ठ नागरिकहरूसँग चियापान कार्यक्रम सम्पन्न भएको छ।
सेप्टेम्बर १२ तारिख शनिवारका दिन सम्पन्न कार्यक्रममा उल्लेख्य स्थानीय नेपालीहरूको उपस्थिति रहेको थियो। छोटो समयभित्र सूचना प्रवाह गरिए पनि सानो समुदायबाट भएको उत्साहजनक भएको उपस्थिति प्रति अध्यक्ष ज्ञानेन्द्र राईले खुशी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय सार्वजनिक पार्कहरूको सरसफाइ अभियान चलाएर पर्यावरण सफा राख्ने सचेतना फैलाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपस्थित सहभागीहरूप्रति आभार व्यक्त गर्दै महासचिव रोशन राईले छोटो समयको सूचनामा पनि श्रमदानमा उपस्थित गोर्खा नेपाली कम्युनिटीका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। आगामी दिनका सामुदायिक कार्यक्रमहरूमा पनि निरन्तर सहभागिता रहने विश्वास व्यक्त गर्दै सबैको सहयोगबिना संस्था एक्लैले केही गर्न नसक्ने स्पष्ट पार्नुभयो। समुदायले नै संस्थालाई चलायमान बनाउने र सक्रिय सदस्यहरूकै कारण संस्था जीवित रहने उहाँको भनाइ थियो।
कार्यक्रम बिहान १०:०० देखि ११:०० बजेसम्म ग्रेट लाइन हेरिटेज पार्कको तल्लो प्रवेशद्वार क्षेत्रमा सरसफाइ गरिएको थियो त्यसपछि बिहान १०:०० देखि १२:०० बजेसम्म ल्याम्पर्ड सेन्टर, जिलिङ्घाममा ज्येष्ठ नागरिकहरूसँग भलाकुसारी तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो।
ज्येष्ठ नागरिकहरूसँगको चियापान कार्यक्रममा मन्तव्य राख्दै मेडवे काउन्सिलकी पूर्वमेयर तथा काउन्सिलर नीना गुरुङले नेपाली समुदायको चलायमान र उत्तरदायी भूमिकाको प्रशंसा गर्नुभयो।
उहाँले लामो समयदेखिको सामुदायिक हल वा भवनको आवश्यकतालाई मध्यनजर गर्दै मेडवे काउन्सिलले दुई तले भवन उपलब्ध गराउने तयारी गरिरहेको खुशीको समाचार सुनाउनुभयो।
मेडवे डाइभर्सिटी फोरम, शिख कम्युनिटी, नेपाली कम्युनिटी र अफ्रिकन कम्युनिटीलाई न्यूनतम भाडामा छुट्टाछुट्टै हल उपलब्ध गराउने तयारी भइरहेको र महँगो भाडा तिरेर स्कुल वा होटलका हल प्रयोग गर्नुपर्ने असहजता छिट्टै हट्ने उहाँले जानकारी दिनुभयो।
ज्येष्ठ नागरिकहरूको चियापान कार्यक्रमका लागि गोर्खा नेपाली कम्युनिटीका कोषाध्यक्ष पुष्पा राईको व्यवस्थापनमा स्यान्डविच, समोसा, कफी र चियालगायतका परिकारहरूको व्यवस्थित प्रबन्ध गरिएको थियो। विभिन्न सचेतनामूलक जानकारीसहित डाईमेन्सिया बारे पनि जानकारी गराईएको कार्यक्रम दिउँसो अबेला समापन गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन ज्ञानेंद्र राई, रोशन राई, मेडवे काउन्सिलका पूर्वमेयर काउन्सिलर नीना गुरुङ, ताईकाजी गुरुङ, चन्द्रावती राई, जुनतारा राई, इन्डीसेन राई, पासाङ शेर्पा, डम्बरबहादुर राई, गम्बरसिंह लिम्बू, जगबहादुर थापा, पुष्पा राई, भूमिराज राई, मोहन सिंह तामाङ, अनस्पा राई र दिमाकसिंह राई लगायतका स्थानीय समुदायका सदस्यहरूले उपस्थिति जनाएका थिए।
— भूमिराज राई
(फोटो सौजन्य: मोहन सिंह तामाङ, इन्डीसेन राई, भूमिराज राई)




