साहित्य सिर्जना

कामी शेर्पाका सगरमाथामा ६ पाइला

कृष्ण अधिकारी/रासस
काठमाडौँ, ११ वैशाख : हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा समुदायले बसोबाससँगै संस्कृति, परम्परा, धर्म र जीवनशैलीले गहिरोसँग परिचय बनाएको छ । साहसी, निडर, सरल र कर्मठ स्वभावकै कारण हिमाल आरोहणमा संसारका मानिसले शेर्पाहरुलाई सम्झने गर्छन् ।

सयौँ शेर्पा आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व मञ्चमा नेपालको नाम लेखाउने काम मात्रै गरेनन्, नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदानसमेत पु¥याएका छन् । तिनै शेर्पाहरुको सूचीमा रहनुभएका आरोही कामी शेर्पा स्वयं सञ्चारकर्मीसमेत रहनुभएका कारण आफ्ना अनुभवहरुलाई लिपिबद्ध गराउनुभएको छ । आफ्नो अनुभव, सङ्घर्ष र सफलताका कथा समेटिएको ‘सगरमाथामा ६ पाइला’ कृति नेपाली पर्वतारोहण साहित्यमा एक महत्वपूर्ण दस्तावेजको रुपमा रहने देखिन्छ ।

कामी शेर्पाले पनि हिमाल, पर्यटन, सञ्चार र सामाजिक क्षेत्रमा आफ्नो जीवनका ऊर्जाशील समय खर्चेका कामी शेर्पा नेपालका प्रसिद्ध पर्वतारोही हुनुहुन्छ । छ पटकसम्म सर्वोच्च चुली सगरमाथामा पाइला टेकेका उहाँको साहस, समर्पण र साधना आफैँमा अमूल्य छ । निरन्तर लागिपरेर आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने बलियो र प्रेरणादायी सन्देश दिन उहाँ सक्षम हुनुहुन्छ । यो पुस्तक केवल व्यक्तिगत सफलता कथामा सीमित छैन, यसले हिमालसँग जोडिएको जीवन, जोखिम, साहस र मानवीय धैर्यको गहिरो चित्र प्रस्तुत छ । ‘६ पाइला’ भन्ने प्रतीकात्मक शीर्षकले सगरमाथा जस्तो कठिन यात्रामा अघि बढ्ने साना तर निर्णायक कदमहरूको सङ्केत गर्छ । यसले पाठकलाई सफलता एकैचोटी होइन, निरन्तर प्रयास र अनुशासनबाट प्राप्त हुन्छ भन्ने सन्देश दिन्छ । यथार्थपरक प्रस्तुति नै पुस्तकको मुख्य बल हो ।

देशको पर्यटन र पर्यावरणमा समेत सकारात्मक धारणा राख्ने शेर्पा अधिकांश समय विदेशी भूमिमा रहेर पनि जन्मथलोप्रति उत्तिकै चिन्तित र क्रियाशील हुनुहुन्छ । युवा पुस्तालाई आफ्नो शक्ति, तागत र सपनाको सदुपयोग गर्न मद्दत पुगोस् भन्ने बलियो निस्कर्षका साथ उहाँले यो पुस्तक प्रकाशनमा ल्याउनुभएको हो । हरेक व्यक्ति जाति र समुदायले आफ्नो इतिहास, परम्परा र चालचलनलाई संरक्षण गर्नु र नयाँ पुस्तालाई हस्तान्तरण गर्नु नैतिक कर्तव्यको बोधकै गर्भबाट यो पुस्तक पाठकको हातमा पुग्न सकेको हो । आफ्ना अनुभवलाई संसारसामु दुरुस्तै देखाउने उहाँको इमान्दार प्रयासले भावी पुस्ताका लागि गतिलो पाठ सिकाएको छ ।

हिमाल आरोहणका क्रममा भोग्नुपरेका अत्यधिक चिसो, अक्सिजनको कमी, जोखिमपूर्ण बाटो र मृत्युको नजिकको अनुभूतिजस्ता कठिन पक्षलाई सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गरिएबाट लेखकको लेखन कुशलता झल्किन्छ । पुस्तक पढिरहँदा पाठकलाई आफू एक आरोहीको रुपमा सगरमाथाको नजिक भएको अनुभूति गराउँछ । पुस्तकमा विश्लेषणात्मक पक्षभन्दा अनुभवको वर्णनमा बढी जोड दिइएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा अलगअलग प्रकाशित यी पुस्तकले स्वदेशी र विदेशी पाठकहरुलाई नेपालको हिमाल र पर्यटनको अवस्था राम्ररी बुझ्ने अवसर दिएको छ ।



वास्तवमा यस पुस्तकलाई हिमाल र पर्यटनसँग मात्रै जोडेर नहेरी उच्च हिमाली भेगका ‘अदृश्य नायक’ शेर्पाहरूको सङ्घर्ष र साहसको जीवन्त दस्तावेजको रुपमा पनि हेर्न सकिन्छ । शेर्पा समुदायको योगदान र उनीहरूको जीवन सङ्घर्षलाई पनि पुस्तकले सम्मानपूर्वक उजागर गरेको छ । त्यसैले यसलाई केवल लेखकको एउटा संस्मरण मात्र नभई, मृत्युलाई नजिकबाट जितेका एक आरोहीको भावनात्मक यात्रा स्मरणको सङ्ग्रह पनि मान्न सकिन्छ । २३ वर्षको उमेरमै सगरमाथा आरोहण गर्न सफल उहाँले पटकपटक गरेर कामी शेर्पाले छ पटक सगरमाथा आरोहण गरिरहँदा सँगालेका अनुभवहरुलाई पुस्तकमा समावेश गर्नुभएको छ । साहित्यिक गहिराइ अलि कम भेटिए पनि साहस, सङ्घर्ष र आत्मविश्वासको सन्देशले भरिएको यस पुस्तक धेरैका लागि प्रेरणादायी स्वर बन्न सक्दछ ।

समग्रमा, यस पुस्तक नेपाली पर्वतारोहण अनुभवलाई सजीव रूपमा प्रस्तुत गर्ने प्रेरणादायी कृति रहेको छ । यसले केवल एक व्यक्तिको सफलता मात्र होइन, हिमालसँग जोडिएको सम्पूर्ण जीवनदर्शनलाई उजागर गरेको छ । पुस्तकले नेपाली पर्वतारोहणको इतिहास र साहित्यमा पक्कै पनि एक महत्वपूर्ण इँटा थपेको छ । केही दिनअघि मात्रै राजधानीमा आयोजित एक समारोहमा विमोचित यस पुस्तकले छोटो अवधिमै धेरै पाठकहरुको मन जित्न सकेको छ । विभिन्न २० शीर्षकमा आफ्नो भोगाइका अनुभवहरुलाई सङ्ग्रहित यस पुस्तकको सम्पादन युवराज नयाँघरेले गर्नुभएको हो ।

Related Articles

Back to top button