सिर्जनशील सामाजिक युवा समूहकाे दोस्रो अधिवेशन सम्पन्न
कविता वाचनसँगै साहित्यिक बहस

१० जनवरी, इलाम । सिर्जनशील सामाजिक युवा समूह नेपालले इलाममा आफ्नो दोस्रो अधिवेशन तथा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नयाँ कार्यसमितिको चयनसहित कविता वाचन र साहित्यिक बहसको आयोजना गर्दै अधिवेशन सम्पन्न भएको हाे ।
कवि हाङ्युग अज्ञातकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिभा पौडेल विशेष अतिथि थिए । अरनिको सांस्कृतिक संग्रहालयमा भएको कविहरू कार्यक्रममा ऋजन मायालु, प्रदीप योङहाङ र पवित्रा घिमिरेले कविता वाचन गरेका थिए । ‘अबको साहित्य लेखन के हुने?’ विषयमा कवि प्रकाश थाम्सुहाङसँग बहस सम्पन्न भएकाे थियोे । प्रस्तोता कविता राईले बहसलाई सञ्चालन गरिन् । कवि थाम्सुहाङले मोफसल र केन्द्रको भिन्नतालाई हटाउँदै राजधानीका लेखकहरूले बाहिरका लेखकलाई चिने पनि नचिने जस्तो व्यवहार गरेको बताए ।
टिप्पणीकर्ता जनकऋषि राईले साहित्यिक लेखनमा बहुकेन्द्रीय दृष्टिकोण आवश्यक रहेको र साहित्यले समाजका विविध दृष्टिकोणलाई स्वीकार गर्नुपर्नेमा जोड दिए । कवि एवम् गजलकार सुन्दर कुरुपले समेत शुभकामना मन्तव्यसहित कविता सुनाए ।
समितिको नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा जनम लिङ्दम, सह-अध्यक्षमा बेनुप भट्टराई, सचिवमा अनिश राई, सहसचिवमा जीना अधिकारी र कोषाध्यक्षमा गङ्गा लिम्बू रहेका छन् । सदस्यहरूमा राजकुमारी राई, जितेन चाम्लिङ राई, अञ्जीला थामी, सरोज विश्वकर्मा, प्रेमिका पाण्डे, दिल कुलुङ, सुष्मा राई, निसान कोइराला चिरञ्जीवी, दिपेश पाठक रहेका छन् ।
सिर्जनशील सामाजिक युवा समूह नेपाल ०७८ सालमा स्थापित भएको र साहित्यलाई केन्द्रमा राखेर विविध साहित्यिक गतिविधि गर्दै आएको छ ।



