समाचारसाहित्य सिर्जना

साहित्यकार मन्दीप लामालाई चिया कविता पुरस्कार प्रदान

तीन मुलुकका सर्जकहरूकाे कविता वाचन

२२ मे, गान्ताेक(सिक्किम) । लेखक, नाटककार,
गीतकार, अनुवादक एवम् सङ्गीतकार मन्दीप लामालाई यस वर्षकाे चिया कविता पुरस्कार प्रदान गरिएको छ । चिया कविता सिक्किमले बुधबार विश्व चिया दिवसको अवसरमा नगद राशीसहित पुरस्कार प्रदान गरेको हाे ।

गान्ताेककाे जीवन थिङ मार्गस्थित रचना बुक्सकाे हलमा आयोजना भएको कार्यक्रमबीच साहित्यकार लामालाई नगद पचास हजार रूपैयाँसहित स्मृति चिन्ह र प्रशस्ती पत्र प्रदान गरिएको थियोे । याे पुरस्कार सन् २०२३ बाट वितरण गर्न थालिएको हाे ।

सन् १९७०-८० को दशकमा सिक्किमेली नाट्य एवम् सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका मन्दीप लामा सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तक्निकीसित जोड्ने नाटककार हुन् । जसले प्रसिद्ध नाटक ‘रक्तिम रात’को रचना गरेका थिए । सिक्किम क्रिएटिभ आर्ट्स एन्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव पनि रहेका लामाले ‘गीत अनि गीताङ्गे’-को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका लामाले “अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस”-नामक पुस्तक लेखेका छन् भने धेरै पुस्तकहरूको अनुवाद पनि गरेका छन् ।

नाट्य लेखन एवम् निर्देशनसँगै  मन्दीप एक कुशल सङ्गीतकारको रूपमा पनि चिनिन्छन् । गान्तोकको डेभलपमेन्ट एरियानिवासी लामाको नाट्य, साहित्य, कला एवम् सङ्गीत क्षेत्रमा दीर्घकालीन योगदानको मूल्याङ्कन एवम् कदर गर्दै चिया पुरस्कारद्वारा विभूषित गरिने निर्णय लिएको आयोजकले बताएका छन् । सम्मानित सर्जक मन्दीप लामाले ‘रक्तिम रात’ नाटक र पृष्ठभूमिबारे मन्तव्यबा क्रममा कुरा राखे ।

चिया कविताका संयाेजक कवि प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा गाेपाल के. क्षेत्रीले चिया वार्ता अन्तर्गत चियाखेती र यसको सामाजिक राजनीतिक पक्षबारे कुरा गरे ।उनले दार्जिलिङमा १७७ हेक्टरमा चिया खेती हुँदा ५०० कार्यरत रहेको र वार्षिक १०० टन उत्पादनसँगै ७ देखि १० कराेड राजस्व बुझाउने तथ्य अगाडि सारे ।

दाेस्राे चरणमा अन्तरदेशीय सर्जकहरूकाे कविता वाचन समेत राखिएको थियोे । सिक्किमबाट साेनाम पाल्जर, सविना राई, पूजा क्षेत्री, पश्चिम बङगालबाट निरज थापा, प्रभात राई चिसाे, याेगिता राई, आरती ठकुरी, कमल भट्टराई, जीवन लिवाङ, सुरेन लिम्बुले सिर्जना सुनाए । त्यस्तै, भुटानबाट तुम्बेहाङ लिम्बु, नेपालबाट हाङयुग अज्ञात, प्रकाश थाम्सुहाङ, देवान किराती, गिरीराज बाँस्कोटा र अमित थेवे कविता सुनाए ।

नेपाली साहित्य कविताबारे सिक्किम विश्वविद्यालयका सह-प्रा. बलराम पाण्डेले बाेले । साे अवसरमा डुप छिरिङ लेप्चा, ललित गुरुङकाे समेत उपस्थिति रहेको थियोे ।

Related Articles

Back to top button