
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी थिइन् । बालविवाह गरेर छोरीहरूले भोगेका पीडा उनले प्रत्यक्ष देखेकी थिइन्।
त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उनलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबासमक्ष आफ्नो अडान राखिरहिन्, ‘पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।’ धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिइन् । सिभिल इञ्जिनियरिङ अध्ययनरत २५ वर्षीया रुबी हालै समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।
उनी श्रम संस्कृति पार्टीबाट निर्वाचित भएकी हुन् । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उनले भावुक हुँदै भनिन्, ‘मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनु छ ।’ उनका अनुसार मधेसमा अधिकांश छोरीहरूको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ । छोराहरू रुँदै मजदुरीका लागि बिदेसिन बाध्य छन् । रुबीका बुवा पनि १० वर्षदेखि मजदुरीका लागि साउदीमा छन् । अब पहिलो काम उनी बुबालाई घर फर्काउन चाहन्छिन् । ‘स्वदेशमै रोजगार भए कसलाई बिदेसिन मन लाग्छ र ?,’ उनले भनिन्, ‘स्वदेशमै रोजगार भए, बुबा बिदेसिनु पर्थेन । मेरो बुबा जस्ता धेरै नेपाली विदेशमा छन् । उनीहरूलाई स्वदेशमै फर्काउन चाहन्छु ।’
स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउनु उनको अर्को मुद्दा हो ।
संसद्मा सप्तरङ्गी उपस्थीति
समानुपातिकतर्फ प्रमाणपत्र लिन आउनेमा मधेस प्रदेशकी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थी रुबीसँगै, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठदेखि नायिका रिमा विश्वकर्मा समेतको उपस्थिति थियो । समाजको पिँधमा परेका मुस्लिम समुदायका महिलाका अनुहार पनि सांसदका रुपमा देखिएका छन् । टाउकोमा रुमाल बेरेर काखीमा बच्चा च्यापेर समानुपातिक प्रतिनिधि सदस्यको प्रमाणपत्र बुझ्न आएकी चितवनकी समिना मियाँले भनिन्, ‘मुस्लिम महिला लजालु स्वभावका छन्, उनीहरूलाई समाजको मूल प्रवाहमा ल्याउन शिक्षा र स्वास्थ्यमा जोड दिनु आवश्यक ठानेकी छु ।’
भरतपुर महानगरपालिका–१ की मियाँ रास्वपाको संस्थापक सदस्य हुन् । नर्सिङ पेसामा आबद्ध उनले रुपान्तरणका लागि राजनीतिक चेत आवश्यक भएकाले आफूले परिवार, पेसासँगै संसद्मा पुग्न जरुरी ठानेको बताइन् ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक प्रतिनिधि सदस्य भएकी दाङ, घोराहीकी ५० वर्षीया भीमकुमारी बुढामगर जनयुद्धकालदेखि राजनीतिक रुपमा सक्रिय थिइन् । उनी पहिलो पटक सांसद बनेकी हुन्। मगर पहिरनमा सजिएर प्रमाणपत्र बुझ्दै गर्दा उनले गणतन्त्र ल्याउनुमा जसरी आफूले योगदान दिएको हो, त्यही ऊर्जा र उत्साह अझै कायम रहेको बताइन् । उनले भनिन्, ‘युवाको बाहुल्यता छ, विश्वास छ राम्रै काम गर्छन् ।’
नेकपा एमालेको तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य भएकी पद्माकुमारी अर्यालले संसद्मा आफूले जनता र राष्ट्रयका पक्षमा हुने सरकारको कार्यको समर्थन गर्दै विपरीत कार्यको विरोध गर्ने बताइन् । रास्वपाका समानुपातिक प्रतिनिधि सदस्य प्रकाशचन्द्र दर्जी (परियार)ले रास्वपाले घोषणापत्रमा दलित समुदायमाथि राज्यले गरेको अन्यायको माफी माग्ने वाचा पूरा गर्ने बताए ।
लामो समयदेखि दलित मुद्दाका विषयलाई लिएर आन्दोलन गरिरहेका नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समानुपातिक सांसद गणेश विश्वकर्माले संविधानमा उल्लिखित दलित अधिकारका कानुन निर्माणमा आफ्नो निरन्तर प्रयास हुने बताए ।
रास्वपाका तर्फबाट समानुपातिक सांसद बनेकी सीता वादीले संसद्मा वादी समुदायको प्रतिनिधित्व गर्दैछिन् । ‘वादी समुदायको बास छैन, गाँस पनि छैन,’ उनले भनिन्, ‘संसद्मा वादीको आवाज जस्ताको तस्तै सुनाउँछु र उनीहरूको जीवनस्तर उकास्ने प्रयास गर्नेछु ।’
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र वितरण गरिएको हो ।
निर्वाचन आयोगले केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गरेका थिए ।




