चुनावमा अन्तरघात गरेको भन्दै धनकुटाको साँगुरीगढीकी उपाध्यक्ष राईलाई एमालेले गर्यो कारवाही

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ ।
एमाले जिल्ला अध्यक्ष शिव आङ्लाको अध्यक्षतामा बसेको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्ला कमिटी सदस्यसमेत रहेकी राईलाई कारवाही गर्ने निर्णय गरेको हो ।
चुनावमा पार्टीलाई असहयोग गरेर अन्तरघात गरेको ठहर गर्दै राईलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गर्ने निर्णय भएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
उपाध्यक्ष राईले चुनावमा नेपाली कांग्रेसको पक्षमा लागेर एमालेलाई असहयोग गरेको आरोप छ । राई, गत २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनलाई निष्कासन गरिएको जानकारी पार्टीले निर्वाचन आयोगलाई पनि पठाएको छ । पार्टीले कारवाही गरेपछि उनको पद धरापमा परेको छ । उनको पद रहने वा नरहने निर्वाचन आयोगले निर्णय गर्नेछ ।




