समाचारसाहित्य सिर्जना

‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’ लाई विमल गुरुङ कृति पुरस्कार

२२ अक्टाेबर, धरान । गोर्खाका कवि चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ र मिरिक दार्जिलिङ (भारत) निवासी विजय बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’ लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय भएको छ ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फुलपातीको दिन पुरस्कार घोषणा गर्दै दुई कृतिलाई संयुक्तरुपमा पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । पुस्तकालयका तर्फबाट राज माङलाकले चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ नेपाली साहित्यमा शालिन शैलीमा व्यक्त जीवनका शाश्वत मूल्यको खोजी गरिएका कविताहरूको संग्रह भएको जनाउँदै पुरस्कार योग्य भएको ठहर गरेको बताए ।

यसैगरी मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्सा’ दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरुले भोग्दै आएको भौगोलिक, राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति भएकाले पुस्तकालयले ०७९ को विमल कृति दुवै जनाको कृतिलाई प्रदान गर्ने निर्णय गरिएको माङलाकले बताए ।

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले विमल कृति पुरस्कारका लागि आह्वान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक/ साहित्यकार/ सर्जकहरुबाट  १०१ कृति प्राप्त भएकामध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनौट गरिएको र साही मध्येबाट उत्कृष्ट दुई कृति पुरस्कारका निम्ति चयन गरिएको बताए ।

उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औं जन्मजयन्तीको अवसरमा नगद राशी दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

साहित्य र पत्रकारिता गर्दागर्दै ०४८ साला वैशाख २४ धादिङको जुकेपानीमा सवारी दुर्घट्नामा परी निधन भएका आफ्नो एक्लो छोरा विमलको स्मृतिमा पुर्व गोर्खा सैनिक पूर्णवहादुर गुरुङ र परिवारले पुस्तकालय स्थापना गरी विमलको जन्मदिनको अवसर पारेर ३२ बर्षदेखि नियमित राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएका छन् । पुस्तकालयकै नाममा एक करोड रुपैयाको अक्षय कोष राखेर गत वर्षदेखि नगद २ लाखको रुपैयाँको विमल कृति पुरस्कार प्रदान गर्दै आएका छन् । अध्यक्ष गुरुङले भने, ‘मत लाहुरे अनपढ परें । छोराले बनाएको साहित्यको गोरेटोलाई मैले अपनाएर नेपाली साहित्यका श्रष्टाका कृतिलाई सम्मान गर्ने उद्देश्यले यो ८० कटेको उमेर पनि लागिपरेको छु । यो सबै नेपाली साहित्यकारहरूकै साझा सम्पति हो । मरेर जाँदा मैले लैजाने होइन ।’

Related Articles

Leave a Reply

Back to top button