राजनीति

इलाममा तीन महिला सहित २७ जनाको उम्मेदवारी

फिक्कल (इलाम), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं २ को तथा सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं १ को उम्मेदवारी दर्ता भएको हो ।

इलाम क्षेत्र नं १ मा दुई महिलासहित १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो । क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईको उम्मेदवारी दर्ता भएको छ ।


त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बूको पनि उम्मेदवारी दर्ता भएको छ । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले महिलालाई उम्मेदवार बनाएको छ ।

यस्तै क्षेत्र नं २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मङ्गोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) र डाकप्रसाद गौतमको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टीले मात्र महिलालाई उम्मेदवार बनाएको छ । जिल्लामा सबैभन्दा कान्छो उम्मेदवार क्षेत्र नं २ मा रास्वपाका गोकुलबहादुर राई (३२ वर्ष) हुनुहुन्छ भने जेठो उम्मेदवार नेकपा (माओवादी) का होमप्रसाद खतिवडा (६८ वर्ष) हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका २ लाख ३१ हजार ८ सय ९ मतदाता कायम भएका छन् । एक लाख १९ हजार ६ सय ४८ पुरुष, एक लाख १२ हजार १ सय ५८ महिला र ३ तेस्रोलिङ्गी मतदाता रहेका छन् । विसं २०७९ को निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए । आउँदो निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा एक लाख १२ हजार ३ सय २० तथा क्षेत्र नम्बर–२ मा एक लाख १९ हजार ४ सय ८९ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । निर्वाचनका लागि इलाममा एक सय ९० मतदानस्थालमा २ सय ५० मतदान केन्द्र कायम भएको उहाँले बताउनुभयो ।
–––

Related Articles

Back to top button

This will close in 0 seconds