प्रदेश नं १ को नाम किरात हुनुपर्छ – सांसद खडका

ओखलढुंगा– नेकपाका नेता तथा प्रदेश नं १ का सांसद मोहनकुमार खड्काले प्रदेश नं १ को नाम किरात राख्न पहल गर्ने बताएका छन् ।

आफूले प्रदेश नं १ को नाम किरात नै हुनुपर्नेमा कुरा विगतदेखि उठाउँदै आएको उनले बताए ।
किरात राई वाम्बुलेहरुको प्रमुख चाड ढ्वाङ्कुमोको अवसरमा आइतबार ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका–२ उँबुमा आयोजित सांस्कृतिक कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् ।

उनले विगतमा किरात प्रदेश भन्दा विरोध गर्ने कांग्रेस नेताहरुले नै अहिले किरात प्रदेश नपाए आन्दोलन गर्ने चेतावनी दिन थालेको बताए ।

ओखलढुंगाका कांग्रेस नेता रामहरि खतिवडाले किरात प्रदेशमा आफ्नाे पार्टीको समर्थन रहने बताए ।
सत्तारुढ नेकपाले किरात प्रदेश प्रस्ताव गरे कांग्रेसले समर्थन जनाउने उनको भनाइ छ । तर कांग्रेसले मात्रै चाहेर नहुने उनले बताए । उनले प्रदेशको नाम सर्वसम्मत रुपमा राख्नुपर्ने औल्याए ।

नेकपाका नेता तथा संघीय सांसद यज्ञराज सुनुवारले विवाद नहुने र पहिचान झल्काउने गरी प्रदेशको नामाकरण गर्न सकिने बताए ।

किरात प्रदेश हुँदैमा गैरकिरातहरुले मन दुखाउनुपर्ने र किरातहरु हौसिनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले प्रदेश नं १ को नाम किरात नराखे कडा आन्दोलन गरिने चेतावनी दिए ।
तर किरात प्रदेश नामाकरण हुनेमा आफूहरु ढुक्क भएको उनको भनाइ छ ।

वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले किरात शब्दले कुनै एक जातिलाई मात्रै प्रतिनिधित्व गर्छ भन्ने भ्रम छरिएको बताए । पत्रकारसमेत रहेका राईले त्यस किसिमको भ्रम चिर्नकै लागि पनि प्रदेश नं १ को नाम किरात राख्नुपर्ने बताए ।-सार्बजनिक डटकमबाट