आदिवासी

युकेमा दुईदिने आदिवासी दिवस खेलकुद तथा मेला सम्पन्न

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले दुईदिने आदिवासी दिवस खेलकुद तथा मेला भव्य रूपमा सम्पन्न गरेको छ।

विश्वव्यापी रूपमा प्रत्येक वर्ष ९ अगस्टका दिन मनाइने विश्व आदिवासी दिवसको अवसरमा नेफिन युकेले यस वर्ष विभिन्न कार्यक्रमसहित दिवस मनाएको हो। पहिलो दिन भलिबल र छेलो खेल आयोजना गरिएको थियो। भलिबल प्रतियोगितामा २१ टिमको सहभागिता रह्यो।

युथ टिमतर्फ ग्रिनिच टिम प्रथम भई १,६०० पाउन्ड नगद पुरस्कार जित्न सफल भयो भने अल्डरसट टिम दोस्रो स्थानमा रह्यो। पुरुष भ्याटरनतर्फ प्रथम ग्रिनिच भलिबल परिवार, दोस्रो स्याङ्जा युके बने। महिला टिमतर्फ प्रथम मोना युके, दोस्रो म्यानचेस्टर टिम रह्यो। भलिबल प्रतियोगिताको संयोजन नेफिन युकेका पूर्वअध्यक्ष कर्म पहाडी शेर्पाले गरेका थिए।

दोस्रो दिन, १० अगस्टमा, युकेस्थित विभिन्न जातीय संगठनहरूले आफ्नो परम्परागत भेषभूषामा सुसज्जित भई झाँकी प्रदर्शन गरेका थिए। झाँकी प्रतियोगितामा प्रथम युके मगर संघ, दोस्रो किरात याक्थुङ चुम्लुङ युके, र तेस्रो किरात राई यायोख्खा युके बने।

यस वर्षको आदिवासी वर्ष पुरुष २०२५ मा दुत पुन र आदिवासी वर्ष महिला २०२५ मा गंगामाया दुुरालाई घोषणा गर्दै सम्मान गरियो। धनुषकाँड (आर्चरी) र छेलो खेलका विजेताहरूलाई समेत पुरस्कारसहित सम्मान गरिएको थियो।

कार्यक्रम लण्डन नजिकको ग्याम्बरल्याण्डस्थित किरात राई यायोख्खा युकेको आफ्नै भूमिमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्वसंघीय सचिव भक्त दुरा रहेका थिए। साथै, आधा दर्जनभन्दा बढी समाजका अगुवा नेताहरूले आदिवासी दिवसको शुभकामना दिएका थिए। नेपाल र युकेका कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष योगेश राईले गरेका थिए भने सञ्चालन महासचिव फारामबहादुर दुराले गरेका थिए। यो दुईदिने कार्यक्रम यस वर्ष पहिलो पटक आयोजना गरिएको हो। अध्यक्ष राईले आगामी वर्ष ९ अगस्टमा अझ व्यापक रूपमा मनाइने जानकारी दिँदै सबैलाई सहभागी हुन निमन्त्रणा गरे।

कार्यक्रमस्थलमा खाना, सुनपसल, बुटिक, नेपाली भाडाकुडा लगायतका स्टलहरू राखिएका थिए। यस वर्ष “एआई (कृत्रिम बुद्धिमत्ता) बाट आदिवासीहरूको रक्षा र भविष्य निर्माण” भन्ने नारासहित विश्वभर आदिवासी दिवस मनाइएको हो।

नेफिन युके सन् २००९ मा स्थापना भई सक्रिय रहँदै आएको छ। हाल यस अन्तर्गत ११ वटा जातीय संगठन आबद्ध रहेका छन् ।

Related Articles

Back to top button