मन्त्री क्वार्टर र सुरक्षा चाहिँदैन, म आफैं खाना पकाएर खान्छु :मन्त्री महावीर पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई कुनै अतिरिक्त सेवा सुविधा आवश्यक नपर्ने बताएका छन्।
सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्री क्वार्टरसमेत नचाहिने स्पष्ट पारे। `एउटा भान्सा बनाइदिनु, म आफैं खाना बनाएर खान्छु,’ पुनले भने। सुरक्षा व्यवस्थाको खाँचो नरहेको भन्दै उनले सुरक्षाकर्मीलाई माथि खबर नगरिदिन आग्रह गरेको पनि बताए।
पुनले मन्त्री पद ग्रहणसँगै मन्त्रालयमै ओछ्यान र भान्साको व्यवस्था गर्न आग्रह गरेका छन्। तर, व्यक्तिगत गाडी नभएकाले आवतजावतका लागि गाडी चाहिने बताएका छन्।
त्यसैगरी, पदभार ग्रहण गरेलगत्तै उनले विज्ञान र प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाहकार समिति गठन हुने मन्त्रालयले जनाएको छ।
समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको र सदस्यहरूको नाम पछि टुङ्गो लगाइने मन्त्रालयले स्पष्ट पारेको छ।




