राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको विकल्प छैनः
अध्यक्ष श्रेष्ठ, सङ्घीय परिषद

ललितपुर, फागुन ७ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा प्रतिगामी षडयन्त्रको गन्ध आएको बताउँदै राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद र विज्ञहरूको मन्त्रिपरिषद्को विकल्प नभएको बताए ।
उनले उक्त कुरा जनता समाजवादी पार्टीसम्बद्ध समाजवादी किसान महासङ्घ, नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ, समाजवादी आदिवासी जनजाति महासङ्घ, सङ्घीय समाजवादी खेलकुद महासङ्घ र सङ्घीय कानून व्यवसायी सङ्घ गरी पाँचवटा जनवर्गीय सङ्गठनहरूको रूपान्तरण तथा पुनर्गठन कार्यक्रममा बताएको हो ।
अध्यक्ष श्रेष्ठले नेपालको संविधानले परिकल्पना गरेको ७६१ वटा सरकारमध्ये ७५३ वटा सरकार प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने पुराना दलहरूले सङ्घ र प्रदेशमा रहेको ८ वटा सरकार प्रत्यक्ष निर्वाचित हुन सक्दैन भन्नु दोहरो मापदण्ड भएको बताए । उनले पुराना पार्टीहरूको कटाक्ष गर्दै कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित भए निरङ्कूश हुने हो भने स्थानीय सरकारहरू किन प्रत्यक्ष निर्वाचित गरेको भन्ने प्रश्न तेर्साए ।
हामीले सिद्धान्तको रूपमा समाजवादसँगसँगै सङ्घवादलाई पनि मानिरहँदा पुराना पार्टीहरूको होस हराएको बताउँदै उनले सङ्घवादले उत्पीडित राष्ट्रियताहरूलाई जातीय उत्पीडनबाट मुक्ति र समाजवादले श्रमजीवी वर्गलाई वर्गीय उत्पीडनबाट मुक्ति दिने बताए ।
सङ्घीयताविदकोरूपमा समेत चर्चित श्रेष्ठले नेपालजस्तो बहुलतायुक्त मुलुकका लागि सङ्घवाद र समाजवादलाई सिद्धान्त मान्ने नयाँ ढड्गको पार्टीको आवश्यकता भएको कुरा स्पष्ट पार्दै त्यस्तो पार्टी वैचारिक रूपले प्रष्ट, सङ्घर्षशील, राष्ट्रिय चरित्रको, समानुपातिक समावेशी र अनुशासित हुनुपर्ने कुरा पनि बताए ।
घोषणा सभालाई सम्बोधन गर्दै पहिचानको आन्दोलनका धरोहर एबम् विशिष्ट अतिथि केन्द्रीय समितिका अध्यक्ष मा. अशोक कुमार राईले पहिचानसहितको सङ्घीयताका लागि भएको सङघर्षमा आफूले नेतृत्व गर्न पाउँदा गर्व लागेको बताउँदै यस काममा आफू निरन्तर लागि रहने बताए । उनले आफूहरूले राजनीतिक सिद्धान्त, माग र मुद्दाहरूमा केन्द्रित भएर पार्टी पुनर्गठन गरेको बताउँदै पार्टीलाई मुद्दा हाल्दैमा तर्सनु नपर्ने बताए । उनले पार्टीले मुद्दा जित्ने सनिश्चित भएको भन्दै कार्यकर्ताहरूलाई निर्धक्क भएर लाग्न निर्देशन दिए । कथंकदाचित मुद्दा हारे भने पनि यो पार्टी अगाडी बढ्छ भन्दै उनले मुद्दा हारे सांसद पद त्याग्न तयार भएर नै पार्टी पुनर्गठन गरेको बताए ।
नवघोषित पाँचवटा जनवर्गीय सङ्गठनहरूको महत्वको बारे सविस्तार चर्चा गर्दै पूर्वमन्त्री समेत रहेका राईले प्रत्येक सङ्गठनले आफ्नो कार्ययोजना बनाई त्यसको कार्यान्वयन गर्नुपर्ने बताए । उनले पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन र परिपत्रबमोजिम काम गरे देशैभरी पार्टी र जनवर्गीय सङ्गठनहरू चुस्तदुरुस्त हुने बताउँदै पार्टीका नेता कार्यकर्ताहरू आत्मविश्वासका साथ लागे जित सुनिश्चित हुने बताए । राईले पार्टीको जनवर्गीय सङ्गठनहरूले अरू पार्टीको सङ्गठनहरूले भन्दा फरक पहिचान स्थापित गर्नुपर्ने कुरामा जोड दिए ।
त्यसरी नै अर्का वक्ता पार्टीका उपाध्यक्ष रणध्वज कन्दङ्वाले जनवर्गीय सङ्गठनहरू पार्टीको महत्वपूर्ण आङ्गिक सङ्गठन भएकाले यसको सक्रियताले पार्टीलाई जनस्तरमा विस्तार र सुदृढीकरण गर्ने बताए । उनले पाँचवटै सङ्गठनको पुनर्गठित समितिको नामसमेत घोषण गरेका थिए भने अध्यक्ष द्वयले अवीर र खादा ओढाई बधाई दिएका थिए । कार्यक्रमा माननीय सुशिला श्रेष्ठले पार्टीको जनवर्गीय सङ्गठनहरूलाई ब्यापकरूपमा विस्तार गरेमात्र पार्टीको उद्देश्य पुरा गर्न सकिने बताउँदै त्यसका लागि पुनर्गठित समितिहरूले काम गर्ने विश्वास व्यक्त गरे ।
किसान महासङ्घका अध्यक्ष भाग्यनारायण राय यादवले अध्यक्षता र बौद्धिक पेसाकर्मी महासङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले सञ्चालन गरेको पुनर्गठन भेलामा आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष शाक्य सुरेनले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय विज्ञ परिषदका अध्यक्ष एबम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा पुस्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घःजु, प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङकाजी शेर्पा, बागमती प्रदेशका इन्चार्ज लालबहादुर तामाङ, गण्डकी प्रदेशका धनप्रसाद तामाङ, बागमती प्रदेश समितिका सहइन्चार्ज द्वय न्हुच्छेलाल महर्जन र पञ्चलाल महर्जन, नेवाः राष्ट्रिय समितिका सहइन्चार्ज शोभा बज्राचार्य, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, राजनीतिक समितिका सदस्यहरू प्रेम नारायण थापा, कमला विश्वकर्मा, भीम राई, देवराज राई, केन्द्रीय सदस्यहरू पानबहादुर भुजेल, श्याममाया पुन, अर्जुन लम्साल, सुशीला शाक्य, छविलाल मगर, पासाङ छेल्हामो शेर्पा, नानु थामि, रीता राई, विमला आचार्य, जुनु पुन, मिना राई, राजेश्वरी शर्मालगायतको पनि उपस्थिति रहेको थियो ।
पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनहरूको रुपान्तरण तथा पुनर्गठन घोषणा सभाले लामो समयदेखि समाजवादी आन्दोलन तथा कृषक हकहितका काममा क्रियाशील भाग्य नारायण रायलाई किसान महासङ्घको अध्यक्षमा चयन गरेको छ भने बौद्धिक पेसाकर्मी महासङ्घको अध्यक्षमा अर्जुन श्रेष्ठ, आदिवासी जनजाति महासङ्घको अध्यक्षमा योगराज वनेम, खेलकुद महासङ्घको अध्यक्षमा नेत्र नेम्बाङ र कानुन व्यवसयी सङ्घको अध्यक्षमा दीपक राईलाइ चयन गरेको छ ।