समाचार
Trending

केबुलकार निर्माण राेक्न खाेज्दा आन्दोलनकारी र प्रहरीबीच झडप : दर्जनौं घाइते

आन्दोलनलाई बलपूर्वक दमन गर्न खाेजेकाे सङ्घर्ष समितिकाे आराेप

२५ जनवरी, फुङलिङ । ताप्लेजुङको पवित्र तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र (सेमुक्तुगाेक्/मुक्कुमलुङ) मा केबलकार बनाउन नदिने समूह र प्रहरीबीचको झडपमा क्रममा दर्जनौं घाइते भएका छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी कमाण्डर प्रहरी निरीक्षक रोहित शर्मा गम्भीर घाइते भएका छन्। उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रजिअ शर्माले बताए। आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरीतर्फ जम्मा २० जना घाइते भएका उनले जानकारी दिए ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुईजना आन्दोलनकारीलाई बिराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको उनले बताए। आन्दोलनकारीहरूका अनुसार उनीहरूतर्फ ४ जना गम्भीर घाइते छन् । आन्दोलनकारीहरूतर्फ जम्मा ५५ जना घाइते भएका बताइएको छ।

शनिवार पटक-पटक झडप हुँदा आन्दोलनकारी र प्रहरी दवैतर्फका गरी १८ जना घाइते भएका हुन्।

पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा झडप भएको हो।

दुवै पक्षबीच दिउँसो र साँझ झडप भएको हो । झडपमा १३ जना प्रहरी र ‘नो केबलकार’ समूहका ५ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।

पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि नै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गरिरहेका छन्। ती समूहले कुनै पनि हालतमा केबलकार बनाउन नदिने अडान लिएका छन्।

कम्पनीले मंगलबार केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका थिए । शनिबार उनीहरू र प्रहरीबीच झडप भएको हो ।

सञ्जालमा आन्दोलनकारीले अपलाेड गरेको भिडियोकाे फाेटाे ।

दिउँसो र साँझ दुवै पटक प्रहरीले गोली चलाएको आन्दोलनरत पक्षले जनाएको छ । मुक्कुमलुङ संयुक्त संंघर्ष समितिका अध्यक्ष श्री लिङ्खिमले प्रहरीले अनावश्यक बल प्रयोग गरेर आन्दोलनलाई दमन गर्न खाेजेकाे आराेप लगाए ।

आन्दोलरत पक्षका यामबहादुर लिम्बू (म्याङलुङ–९, तेह्रथुम), धर्मन पालुङ्वा (फुङलिङ–८, ताप्लेजुङ), सगुन लाओती र मंगल लाओती (मिक्लाजुङ–५, पाँचथर) घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले फायर खोलेपछि आन्दोलनकारीहरू खुकुरी, बञ्चरोलगायत घरेलु हतियार लिएर प्रतिकारमा उत्रेका थिए । अहिले पनि सयाैँकाे सङ्ख्यामा आन्दोलनकारी पहाडकाे जङ्गल क्षेत्रमा रहेको समितिले जनाएको छ ।

Related Articles

Back to top button