
१२ अक्टोबर, आसफाेर्ड (यूके) । गत ५ अक्टोबरमा यूकेको केन्ट आसफोर्डमा याक्थुङहरुको सामूहिक ‘सिमेरिङ माङगेना चो:लुङफोमा’ अनुष्ठान सम्पन्न भएको छ । सगरमाथा गाेरखा नेपाली समाजकाे हलमा माङगेना सम्पन्न भएको हाे ।
अनुष्ठानलाई आसफोर्डवासी याक्थुङहरुको चाहना र मागबमोजिम युमा साम्यो महासभा युकेले संयोजन गरेको थियो । माङदेम्वाहरु तेज वहादुर ताप्मादेन र दल वहादुर फुरुम्बोले करिब एक सय जनाको माङगेना गरेका थिए ।
कार्यक्रमको संयोजन संचालन युमा साम्यो महासभा युकेको साँस्कृतिक सचिव भगवती थलङले गर्नु भएको थियो, स्वागत मन्तव्य कार्यक्रम सह संयोजक रितु नाल्वो र अध्यक्षता अध्यक्ष दिल पालुङवा याक्थुङको रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार लोकेन्द्र तबेबुङ, विशेष अथितिहरु माङदेम्वाहरु तेज वहादुर ताप्मादेन, दल वहादुर फुरुम्बो, सल्लाहकारहरु नरेन्द्र मावोहाङ, डम्बर सिंगक ताप्लेजुङ युके युवा समाजका प्रकाश चोङवाङ रहेका थिए ।
मन्तव्यको क्रममा नरेन्द्र मावोहाङले सृष्टिकालदेखि माङगेना गर्ने चलन रहेको वताए । युकेमा वसाई पनि अर्कैको घरमा वस्नु पर्ने वाध्यता भएकोले सामुहिक माङगेना सान्दर्भिक भएको वताए । डम्बर सिंगकले हामी याक्थुङहरुले मौलिक परम्परागत पुजा अनुष्ठान गरिरहेको र गर्नुपर्ने बताए ।
विषेश अथिति येवा तेज बहादुर ताप्मादेनले सामूहिक माङगेना गर्न सकिने र कुखुरा भोगवली दिनै पर्छ भन्ने मुन्धुम नभएको बताए । हमीलाई दुईवटा खर्वा या वटुका र त्यसमा एउटामा जाँड या कोदो मर्चा पानी र अर्कोमा चोखो पानी मातर पनि हुने बताए ।

प्रमुख अतिथि लोकेन्द्र तबेबुङले याक्थुङहरुको मुन्धुम र लोकेशन स्पस्ट देखिने बताए । माङगेना खर्वालुङ र वालाङ चङ ईम्विरी याङ्थाङवामा भएको बताए । वालाङ चङ (कुखुराको खुट्टाको छाप) स्थान नामनै ओलाङचुङ भएको बताए ।

अध्यक्ष दिल पालुङवाले यूकेमा अर्काको घरमा बस्नु पर्ने, चाहिएको बखतमा पूजा आजा गर्न नपाईने, पूजा गर्दा पनि कुखुराहरु काट्न नपाईने नियम, माङदेम्वाहरुको अभाव आदिको कारण पूजै गर्न छोडिसकेका र कतिपय अरु धर्ममा पनि पलायन हुँदै गरेकोले हामीले यसरी याक्थुङ पहिचान कायम राख्न सामूहिक रुपमा माङगेना गर्नु आवश्यक भएको र अन्य पूजाआजा पनि आवश्यकता अनुसार गर्दै जाने वातावरण बनाउँदै जाने बताए । माङगेना लगायत साप्पोक चमेनदेखि मृत्युपर्यन्त कार्यहरु व्यवस्थित ढंगले गर्दै जाने युमा साम्यो संस्थाको रहेको बताए । यसका लागि फेदाङमाहरु चलाउने परम्परा, फेदाङमा व्यवस्थापन गर्ने कुरा, आवश्यक भएमा रोटेशनमा फेदाङमा नेपालबाट ल्याउने व्यवस्थापन र मुन्धुमहिमको परिकल्पना रहेको बताए । मुन्धुमहिममा अटुट रुपमा याक्थुङ धार्मिक कार्यहरु निरन्तर गरिरहनु पर्ने बताए ।
आगामी दिनहरुमा सामूहिक रुपमा गर्न सकिने पूजाहरु गर्दै जानुपर्ने बताए ।
माङगेना कार्यक्रम गर्न निकै चुनौती हुँदाहुँदै पनि करिब एक सय जना जतिको माङगेना गिएको थियो । विशेष गरेर माङगेना गरेपछि तक्सोक, थिसोक तथा चासोक गर्ने परम्परालाई कायम राख्दै माङगेना गरेको खुलासा पनि गरे ।

कार्यक्रमको अन्त्यमा समितिको आर्थिक उप सचिव तथा केलाङ प्रमुख कमल अन्छङवोको अगुवाईमा केलाङ प्रस्तुति लगायत अन्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।



