समाचार

रासस र क्युएनएबीचको सम्झौता नेपालको सञ्चार क्षेत्रका लागि महत्त्वपूर्ण– अध्यक्ष झा

काठमाडौँ, १३ वैशाख (रासस/क्युएनए) :
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस र कतार न्युज एजेन्सी (क्युएनए) बीच भएको सम्झौताले नेपालको सञ्चार क्षेत्रका लागि महत्त्वपूर्ण र निर्णायक मञ्च स्थापना गरेको बताउनुभएको छ ।

क्युएनएलाई दिनुभएको एक अन्तरवार्तामा कतारका अमिर शेख तमिम बिन हमद अल–थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको सम्झौताको महत्त्वमाथि प्रकाश पार्दै उहाँले अमिरको भ्रमणले विभिन्न क्षेत्रमा दुवै मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो ।

अध्यक्ष झाले दुई समाचार समितिबीच हस्ताक्षर भएको सम्झौताले समाचार, भ्रमण र अनुभवहरूको आदानप्रदानका साथै साझा चासोका सञ्चार विषयमा सहकार्य गर्नेसहितका विभिन्न क्षेत्रमा सहकार्यलाई मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

उहाँले यस सहकार्यले कतार राज्यको जीवन्त मिडिया वातावरण, कतारी मिडियाको समृद्ध अनुभव र क्षेत्रीय तथा विश्वव्यापीस्तरमा कतारको उपस्थितिलाई बढाउने भूमिका बारेमा सिक्न अनुमति दिने बताउनुभयो ।

उहाँले दुवै मुलुकसँग सम्बन्धित समाचारहरूको आदानप्रदानलाई मार्ग प्रशस्त गर्ने भएकाले दुई मुलुकबीच भएको सम्झौताले निश्चितरूपमा दुवै मुलुकका सञ्चारमाध्यममा समाचार सामग्री र कभरेजलाई थप समृद्ध बनाउने बताउनुभयो ।

विश्वमा आफ्नो राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय आयामहरूमा विभिन्न स्थानीय गतिविधिका साथै क्षेत्रीय र विश्वव्यापी घटनाहरू कभर गर्ने क्युएनएको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष झाले विशिष्ट र व्यापक समाचार सेवा प्रदान गर्ने यसको भूमिकामाथि प्रकाश पार्नुभयो । उहाँले अन्य कतारी मिडिया आउटलेटहरूबारे पनि उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button