किरात बान्तावा रुङमाहाङ राईको केन्द्रीय भवन मङ्सिर ५ मा शिलान्यास हुने

भूमिराज राई,
धरान। किरात बान्तावा रुङमाहाङ राई केन्द्रीय वात्तोङ समितिको केन्द्रीय कार्यालय भवन आगामी २०८३ मङ्सिर ५ गते धरानमा शिलान्यास हुने भएको छ। समितिको ५७औँ स्थापना दिवसका अवसरमा संस्थापक अध्यक्ष प्रेमकुमार बान्तावाले मुन्दुमी विधिअनुसार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ।
भवन निर्माणको तयारीबारे ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा आयोजित समीक्षा बैठकले आर्थिक स्रोत परिचालन तथा निर्माण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ। क्षेत्रीय समन्वय समिति तथा विदेश विभाग संयोजक प्रभु राम राईको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाको वार्षिक मुखपत्र ‘दिवाहाङ बाखा’को तेस्रो अङ्क र निर्माण अभियानसम्बन्धी ब्रोसरसमेत सार्वजनिक गरियो।
सो अवसरमा समाजसेवी राजेन्द्र बान्तावाले आफ्नो परिवारका तर्फबाट भवन निर्माणका लागि रु. १० लाख ९५ हजार सहयोग गर्ने घोषणा गर्नुभयो। कोशी प्रदेश सभा सदस्य विनोद बान्तावाको पहलमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटबाट थप रु. १० लाख विनियोजन भएको जानकारी पनि बैठकमा दिइयो।
भवन धरान–८, सभागृह मार्ग, भोटेपुलमा स्वर्गीय पूर्वसभासद् छ्यामा राईले प्रदान गर्नुभएको जग्गामा निर्माण गरिनेछ। शिलान्यासका दिन प्रस्तावित नक्सा प्रस्तुति, कोष घोषणा र दाता सम्मान कार्यक्रम हुनेछ। मङ्सिर ६ गते हुने समितिको पूर्ण बैठकले भावी कार्ययोजना तथा देश–विदेशका शाखा परिचालनबारे निर्णय गर्ने जनाइएको छ।




