युके विशेष

वोकिङ ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटीको अध्यक्षमा कृष्ण थापा

वोकिङ, सरे। ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटी, वोकिङको पाँचौँ वार्षिक साधारण सभाले लेफ्टिनेन्ट (क्यूजीओ) कृष्ण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। सभाले गोर्खा समुदायको एकता, सांस्कृतिक सम्पदाको संरक्षण र पुस्ताबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित पारिवारिक कार्यशाला तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ।

नयाँ कार्यसमितिको महासचिवमा ज्ञान काजी गुरुङ, सचिवमा धन काजी गुरुङ र कोषाध्यक्षमा खेम लिम्बु चयन भएका छन्। दुईवर्षे कार्यकाल पूरा गर्नुभएका निवर्तमान अध्यक्ष लेफ्टिनेन्ट (क्यूजीओ) इसवार आम्बुहाङले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्नुभयो।

सन् २००९ मा संस्था स्थापना गर्नुभएका स्वर्गीय लेफ्टिनेन्ट (क्यूजीओ) चक्र राईको सम्झनामा एक मिनेट मौनधारण गर्दै कार्यक्रम सुरु गरिएको थियो। सभामा उहाँले वोकिङ क्षेत्रका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई संगठित गर्न र समुदायको कल्याणका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गरियो।

कार्यक्रमका प्रमुख अतिथि सेवानिवृत्त मेजर तथा वोकिङका पूर्वकाउन्सिलर चित्रा राणाले गोर्खा इतिहास र समुदाय निर्माणमा संस्थापक राईको भूमिकाबारे चर्चा गर्नुभयो। राईले तयार गर्नुभएको सामाजिक आधारले गोर्खा परिवारलाई एकताबद्ध राख्न र नयाँ पुस्तालाई समुदायसँग जोड्न सहयोग पुर्‍याएको उहाँको भनाइ थियो।

सभामा बेलायतका विभिन्न क्षेत्रबाट भूतपूर्व गोर्खा सैनिक र उनीहरूका परिवार सहभागी भएका थिए। संस्थापक राईकी पत्नी अन्जु राई, सन्तानहरू इन्जिनियर उदिप राई, डा. सुबु, इन्जिनियर इन्दु र डा. नबिता राई तथा नातिनातिनीहरूको पनि उपस्थिति थियो।

निवर्तमान अध्यक्ष आम्बुहाङ, निवर्तमान महासचिव पूर्ण पुन र पूर्वअध्यक्ष देबी लिम्बुले समुदायको हकहितका लागि आपसी एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँहरूले संस्थाको निरन्तरता र प्रभावकारिताका लागि सदस्यहरूको सक्रिय सहभागितामा जोड दिनुभयो।

नेपाली समुदायका अध्यक्ष राम देउसाली राई र इन्जिनियर उदिप राईलगायत वक्ताहरूले बेलायतमा हुर्किरहेका नयाँ पुस्तालाई गोर्खा इतिहास, संस्कृति र पहिचानसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। संस्थालाई भेट्रान्सहरूको साझा मञ्चसँगै पुस्ताबीच अनुभव र ज्ञान आदानप्रदान गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उहाँहरूको धारणा थियो।

नवनिर्वाचित अध्यक्ष थापाले गोर्खा सैनिकहरूको वीरता, त्याग र इतिहासबारे नयाँ पुस्तालाई जानकारी गराउँदै त्यसप्रति गर्व गर्ने वातावरण बनाउन पहल गर्ने बताउनुभयो। उहाँले संस्थाका गतिविधिमा थप भेट्रान्स तथा परिवारको सहभागिता बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सभामा घोषणा गरिएअनुसार इन्जिनियर उदिप राई र इन्जिनियर इन्दुको नेतृत्वमा परिवार तथा युवा पुस्तालाई लक्षित अन्तरक्रियात्मक कार्यशाला सञ्चालन गरिनेछ। कार्यशालामार्फत परिवारहरूलाई संस्थाका गतिविधिसँग जोड्ने र पुस्ताबीच संवाद बढाउने उद्देश्य राखिएको छ।

त्यस्तै, डा. सुबु र डा. नबिताको संयोजनमा ज्येष्ठ भेट्रान्स तथा परिवारका सदस्यका लागि स्वास्थ्य सचेतना र परामर्श शिविर आयोजना गरिनेछ। विशेषगरी यात्रा गर्न कठिनाइ हुने तथा भाषागत वा अन्य व्यावहारिक समस्या सामना गरिरहेका सदस्यलाई यी कार्यक्रममा प्राथमिकता दिइनेछ।

सभाका वक्ताहरूले संस्थापकको योगदानलाई निरन्तरता दिँदै सामुदायिक कल्याण, सांस्कृतिक संरक्षण र नयाँ पुस्ताको सहभागितालाई आगामी गतिविधिको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो।

समाचार: भूमिराज राई
फोटो: इन्जिनियर उदिप राई

Related Articles

Back to top button