NRNA Special

राजनीतिक संस्थामा कार्यकारी पद छाड्न एनआरएनएको सातदिने निर्देशन

काठमाडौं । १७ नोभेम्बर २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यको जिम्मेवारीमा नरहन निर्देशन दिएको छ। त्यस्ता पदमा बहाल रहेकालाई परिपत्र प्राप्त भएको मितिले सात दिनभित्र पद वा सदस्यता त्याग गरी आधिकारिक प्रमाणसहित सचिवालयमा लिखित जानकारी बुझाउन भनिएको छ।

महासचिव डा. चिरञ्जीवी खड्काको नाममा जारी परिपत्रमा संघको गैरराजनीतिक पहिचान, संस्थागत स्वायत्तता र स्वतन्त्र अस्तित्वको संरक्षणका लागि उक्त निर्देशन दिइएको उल्लेख छ। परिपत्र अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२५–२०२७ कार्यकालका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई सम्बोधन गरिएको छ।

संघका केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा निर्वाचित, मनोनीत वा चयन भएको सम्बन्धमा उजुरी तथा गुनासा प्राप्त भएको परिपत्रमा जनाइएको छ। यस विषयमा गत ४–५ अक्टोबर २०२६ मा सम्पन्न परिषद्को ११७औँ बैठकमा छलफल भई संघको गैरराजनीतिक चरित्र तथा विधानका मूलभूत मान्यताको संरक्षण गर्ने निर्णय भएको थियो।

परिपत्रअनुसार तोकिएको अवधिभित्र पद त्याग गरेको प्रमाणसहित जानकारी नबुझाएमा वा उजुरीको छानबिनबाट विधानविपरीत कार्य भएको देखिएमा संघको विधान तथा प्रचलित कानूनबमोजिम आवश्यक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइनेछ।

संघको विधान, २००३ को सन् २०२६ को संशोधनसहितको प्रस्तावनाले संस्थालाई गैरराजनीतिक रूपमा स्थापित गरेको उल्लेख गर्दै परिपत्रमा त्यसको पालना गर्नु सबै पदाधिकारी तथा सदस्यको दायित्व भएको बताइएको छ।

तत्काल लागू हुने भनिएको उक्त परिपत्रमा संस्थाको उद्देश्य, मर्यादा र गैरराजनीतिक चरित्र कायम राख्न सबैबाट जिम्मेवार तथा सहयोगात्मक भूमिका अपेक्षा गरिएको छ।

Related Articles

Back to top button