महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती, सामाजिक व्यक्तित्व र ज्येष्ठ नागरिक सम्मानित

– ज्ञानु फुरुम्बो ‘चरपे’,
आस्फोर्ड, बेलायत। किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती मनाइएको छ। नोभेम्बर १४, २०२६ मा आस्फोर्डस्थित साइमन चर्चको सभाहलमा आयोजित समारोहमा उनको समाज सुधार अभियानको स्मरण गर्दै विभिन्न सामाजिक व्यक्तित्व तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।
राजेन्द्र खिम्दिङको अध्यक्षतामा सम्पन्न समारोहकी प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बूले दीप प्रज्वलन तथा महागुरु फाल्गुनन्दको तस्बिरमा पुष्पहार अर्पण गरी कार्यक्रम उद्घाटन गरिन्।
संस्थाका उपाध्यक्ष निर्मल पतङवाले स्वागत मन्तव्य राखेका थिए भने अर्का उपाध्यक्ष लाल लिङ्देनले महागुरु फाल्गुनन्दको जीवनी र समाज सुधारका क्षेत्रमा उनले पुर्याएको योगदानबारे चर्चा गरेका थिए।
समारोहमा वक्ताहरूले महागुरुको विचार, दर्शन तथा सामाजिक परिवर्तनका अभियानको स्मरण गर्दै उनका आदर्श र शिक्षालाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिए।
सो अवसरमा डम्बर सिंगक, डम्बर खजुम, भीमराज तुम्बाहाङ्फे, छत्र वनेम, शिखर सम्बाहाङ्फे, नेम खापुङ, राजेन्द्र केरुङ, राम सिंथेबे तथा अनिता लिङ्देन गुरुङलाई सम्मान गरिएको थियो। साथै, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मिक्तोक तथा खदा अर्पण गरी सम्मान गरिएको थियो।
समारोहमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष विश्वास दीप तिगेला, किरात राई यायोक्खा बेलायतका महासचिव गंगाराज राई, किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय सदस्य टंक येङ्देन तथा पूर्वअध्यक्ष डम्बर सिंगक सहभागी थिए। किरात याक्थुङ चुम्लुङ संघीय नेपालकी पूर्वउपाध्यक्ष तथा सल्लाहकार नरकुमारी वनेम र आदिवासी जनजाति महासंघ यूकेका पूर्वअध्यक्ष सिरी साम्युको पनि उपस्थिति थियो।
त्यस्तै, सेवानिवृत्त मेजर पदम आङबुहाङ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूकेका उपाध्यक्ष अनिल मल्ल तथा महासचिव जुरेन्द्र खजुम, गोर्खा पिस फाउन्डेसनका अध्यक्ष भीमराज तुम्बाहाङ्फे, लिम्बुवान नागरिक समाजका अध्यक्ष विजय लुम्फुङवा र लिम्बुवान नागरिक समाज यूकेका तुम्याहाङ छत्र वनेम पनि समारोहमा सहभागी थिए।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्ष काजीमान यक्सो, आस्फोर्ड शाखाका अध्यक्ष सुन्दर लिङथेप, सेवारो कलाकार संघ यूकेका महासचिव माक्सती ओख्राबु र किरात राई सांस्कृतिक कलाकार संघ यूकेका अध्यक्ष डिल्लीराम राईको समेत उपस्थिति थियो। गीतकार नेम खापुङ, युवा व्यवसायी डम्बर खजुम तथा गायक राजेन्द्र केरुङलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र समाजसेवी पनि सहभागी थिए।
कार्यक्रमको सञ्चालन निराज माबोहाङले गरेका थिए।




