NRNA Specialप्रवासभूपू गोर्खा कोलमयुके विशेषसमाचार

एफएनजे यूकेद्वारा वंशजको नागरिकता निरन्तरताबारे अन्तरक्रिया

नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले विदेशमा रहेका नेपालीहरूको वंशजको नागरिकता निरन्तरता सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। मिचेटस्थित तमु धीं यूकेको भवनमा आइतबार आयोजित कार्यक्रममा विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरतासँग सम्बन्धित कानुनी तथा नीतिगत विषयमा छलफल गरिएको हो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा, क्याम्पियन फर नेपाल सिटीजनशिप कोंटीनुएशन फर ब्रिटिश गोर्खा (सीएनसीबीजी)का अध्यक्ष थर्क राना तथा अधिवक्ता गोविन्द बेल्वासेले आ–आफ्नो धारणा राखेका थिए।

सीएनसीबीजीका अध्यक्ष थर्क रानाले बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा तथा उनीहरूका सन्तानले वंशजको नेपाली नागरिकताको निरन्तरता पाउनुपर्ने बताए। उनले यो विषय समान अधिकार र न्यायसँग जोडिएको उल्लेख गर्दै राज्यले त्यसतर्फ सकारात्मक निर्णय लिनुपर्ने धारणा व्यक्त गरे।

एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले वंशजको नागरिकताको निरन्तरताका लागि एनआरएनएले निरन्तर पहल गर्दै आएको बताए। गैरआवासीय नेपाली नागरिकताको व्यवस्था आंशिक उपलब्धि भए पनि राहदानी सहितको वंशजको नेपाली नागरिकताको निरन्तरता नै विदेशमा रहेका नेपालीहरूको मुख्य माग रहेको उनको भनाइ थियो।

अधिवक्ता गोविन्द बेल्वासेले नेपालको संविधान र नागरिकता ऐन, २०६३ का विद्यमान व्यवस्थाबारे जानकारी गराउँदै ऐनको दफा १० को उपदफा (१) संशोधन वा हटाउन सके वंशजको नागरिकताको निरन्तरताका लागि कानुनी आधार बन्न सक्ने बताए। उनले आवश्यक परे संविधान संशोधन समेत गर्नुपर्ने सुझाव दिए।

कार्यक्रम नेपाल पत्रकार महासंघ यूकेको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। अन्त्यमा एफएनजे यूकेकी अध्यक्ष विमला सेनेले अतिथि, सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रमको सहजीकरण महासंघकी उपाध्यक्ष प्रमिला लाबुङ राई र महासचिव खेमराज रानाभाटले गरेका थिए। कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य तथा यूकेस्थित नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Related Articles

Back to top button