किरात राई हाउसमा पूर्वाधार सुधार सम्पन्न, साकेला स्थल र प्रवेशमार्ग फराकिलो

बेलायत । किरात राई यायोक्खा युकेको ग्याम्बल्स लेनस्थित किरात राई हाउसमा साकेला स्थल र प्रवेशमार्ग सुधारको काम सम्पन्न भएको छ। बेलायतमा रहेका किरात राई समुदायको साझा सम्पत्तिका रूपमा रहेको उक्त स्थलमा खुला नालीमाथि ड्रेनेज पाइप बिछ्याएर जमिन जोड्नुका साथै प्रवेशद्वारको सडक फराकिलो बनाइएको हो।
किरात राई माङ्खिम एन्ड साकेला म्यानेजमेन्ट कम्युनिटी इन्ट्रेस्ट कम्पनी (सीआईसी) का अनुसार मुख्य साकेला थान र पछाडिको दलदले जमिनबीच रहेको नालीमा पाइप बिछ्याइएको छ। सीआईसीका कार्यकारी निर्देशक धन राईको संयोजकत्वमा २४ अक्टोबर २०२६ मा सुरु गरिएको परियोजना २६ अक्टोबरमा सम्पन्न भएको हो।
माङ्खिम निर्माणका लागि खरिद गरिएको उक्त जग्गामा पानी निकासका लागि बनाइएका गहिरा र फराकिला नालीले जमिनलाई विभिन्न भागमा छुट्याएका थिए। यसका कारण उभौली र उधौलीजस्ता ठूला चाडपर्वमा सवारीसाधनको आवतजावत तथा पार्किङमा समस्या हुने गरेको थियो। नयाँ संरचनाले उक्त समस्या कम गर्नुका साथै स्थलको उपयोग सहज बनाउने अपेक्षा गरिएको छ।
परियोजनामा प्रयोग गरिएका ड्रेनेज पाइपहरू नेसनल हाइवेजअन्तर्गतको एम२५ जङ्सन १० परियोजनाबाट अनुदानस्वरूप प्राप्त भएको सीआईसीले जनाएको छ। पाइप उपलब्ध गराउन सहयोग गरेकोमा कार्यकारी निर्देशक राईले उक्त परियोजनामा कार्यरत आफ्ना भान्जा इन्जिनियर युदिप राईप्रति धन्यवाद व्यक्त गरेका छन्।
धन राईले आफ्नो ज्ञान र सीपका माध्यमबाट समुदायको हितमा योगदान पुर्याउने उद्देश्यले काम गरेको बताएका छन्। समुदायको साझा सम्पत्ति, संस्कृति र पहिचानको संरक्षण तथा विकासका लागि सीआईसीका सञ्चालकहरू निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै उनले पारदर्शिताका लागि परियोजनाका तस्बिर तथा भिडियोसमेत साझा गरेको जानकारी दिएका छन्।
परियोजनाको स्थलगत अवलोकनपछि किरात राई यायोक्खा युकेका अध्यक्ष मेजर (अवकाशप्राप्त) भुपजित पुमा राईले पूर्वाधार सुधारलाई उत्कृष्ट पहलको संज्ञा दिएका छन्। उनले नालीमा पाइप बिछ्याउने र प्रवेशमार्ग फराकिलो बनाउने कार्यले सामुदायिक स्थललाई थप पहुँचयोग्य, उपयोगी र सुरक्षित बनाउने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष राईले कार्यकारी निर्देशक धन राई तथा निर्माणमा संलग्न टोलीलाई धन्यवाद दिँदै अन्य निर्देशकहरूले पुर्याएको भौतिक सहयोग र नैतिक समर्थनको पनि प्रशंसा गरेका छन्। उनका अनुसार सुधारको सकारात्मक प्रभाव आगामी मे २०२७ मा आयोजना हुने उभौली साकेला उत्सवमा देख्न सकिनेछ। परियोजना सोही समयमा समुदायसमक्ष औपचारिक रूपमा प्रस्तुत गरिने जनाइएको छ।
यसैबीच, किरात राई यायोक्खा बेलायतको सन् २०२६–२०२७ को वार्षिक कार्यतालिकाअनुसार उधौली साकेला २६ डिसेम्बर २०२६ र यलेदोङ ५०८७ को कार्यक्रम १६ जनवरी २०२७ मा आयोजना गरिनेछ। संस्थाको स्थापना दिवस ३ अप्रिल, युवाका लागि शैक्षिक कार्यक्रम १० अप्रिल तथा छिमेकीहरूसँग सामूहिक भोजन कार्यक्रम २ मेमा गर्ने तय गरिएको छ।
उभौली साकेला पितृपूजा २० मे र मुख्य उभौली साकेला उत्सव २२ मे २०२७ मा आयोजना गर्ने कार्यतालिका छ। यस्तै, यलम्बर हाङ स्मृति दिवस ३१ जुलाई र संस्थाको १२औँ अधिवेशन १८ सेप्टेम्बर २०२७ का लागि प्रस्ताव गरिएको छ।
– भूमिराज राई




