आदिवासी

लोप हुँदै थारु समुदायको ‘सज्ना’ गीत

दाङ, ४ साउनः यहाँका स्थानीय थारु महिलाले विभिन्न समयमा गाउने सज्ना गीत प्रायःलोप हुँदै गएको छ ।

विशेष गरी खेती गर्ने समय र पतिसँग बिछोड हुँदा गाइने लोकगीत हो, सज्ना । सज्ना गीत विलुुप्त भएको वर्षौंपछि यहाँका थारु समुदायले पुनः सज्नाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय वेदुराम चौधरी सज्ना थारु समुदायको एक मौलिक परम्पारगत महत्वपूर्ण लोकगीत भएकाले संरक्षण गर्न ढिला भइसकेको बताउनुहुन्छ ।

विशेषगरी थारु महिलाद्वारा धान रोप्ने सिजन (वैशाखदेखि असारसम्म) वा वसन्त ऋतुमा सज्ना गाउने गर्छन् ।

प्रेम र विरहको अभिव्यक्ति सज्ना (प्रियतम) गीतमा मिसिएको हुन्छ । विदेशिएका श्रीमान् वा प्रेमीको बिछोडको पीडा, प्रेम र समर्पणको भाव हो, उक्त लोक गीत ।

सज्नामा नवदुलही वा महिलाले बाह्रै महिना श्रीमानसँग ज्यूँन नपाउँदाको वेदना र प्राकृतिक अनुभूतिलाई लोकगीतका माध्यमबाट पोख्ने गर्छन् ।

खेत जोत्नका लागि हलो, जुवाजस्ता सामग्री ल्याउन वन गएका श्रीमान्लाई ‘सज्ना’ गीतमार्फत बोलाउने चलन रहेकोमा सो चलन हराउँदै गएको थारु अगुवा जीवराज चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जेठदेखि असारसम्म खेती गर्ने सिजन हो ।” “यसरी खेती गर्ने समयमा महिलाले यो ‘सज्ना’ गीत गाउने गर्थे, तर अहिले हरायो ।” वसन्त ऋतु लागेपछि गाइने यो गीत पछिल्लो समय हराउँदै गएको अर्का अगुवा रोहित चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “थारु समुदाय पहिचान, संस्कार, संस्कृतिका हिसाबले धनी समुदाय हो”, उहाँले भन्नुभयो, “तर, महिलाले ‘सज्ना गीत बिर्सिदै गएमा थारु पहिचान लोप हुन्छ, यसतर्फ ध्यान दिनुपर्छ ।”

Related Articles

Back to top button