आदिवासी

प्रयोगविहीन भयो जनजाति भवन

लमजुङ, ९ पुस : नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङको भवन निर्माणपछि प्रयोगमै नआइ जीर्ण बन्दै गएको छ । बेंसीसहर नगरपालिका–७ मा करिब ११ वर्षअघि निर्माण भएयता प्रयोगविहीन भवन संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको हो ।

भुइँतलामा एउटा हलसहित पाँच कोठा रहेको दुईतले यस भवनलाई चारैतिरबाट झाडीले घेरेको छ । भवनको तल्लो भाग, झ्या, लढोका भत्किएको छ । भवनको गारोसमेत चिरिएको छ । झट्ट हेर्दा दिउँसै तर्साउने भूतको बङ्गला जस्तै देखिन थालेको छ । भवनभित्र चाउचाउ, बिस्कुटका खोल, फुटेका सिसाका टुक्रा र खाली मिनरलवाटरका बोटल रहेका छन् । एक रोपनी क्षेत्रफलमा आर्थिक वर्ष २०६८÷०६९ मा निर्माण सम्पन्न भएयता भवन प्रयोगविहीन बन्दै आएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङका तत्कालीन अध्यक्ष खेमजङ गुरुङले विसं २०६७ फागुन महिनामा प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना गरेर नाफा भएको करिब रु पाँच लाख रकमध्ये रु तीन लाखमा भवन निर्माणका लागि एक रोपनी जग्गा खरिद गरेको बताउनुभयो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट रु २५ लाख र तत्कालीन जिल्ला विकास समिति लमजुङबाट रु १५ लाख बजेट निकासा गरी भवन निर्माण गरेको उहाँले बताउनुभयो । केही रकम अन्य संस्थाबाट सहयोग आएको र त्यो रकमले तार जाली खरिद गरेकोसमेत बताइएको छ । धेरै दुःख र प्रयासले बजेट जम्मा गरेर भवन निर्माण गरे पनि भवन प्रयोगमै नआई जीर्ण हुँदा दुःख लागेको पूर्वअध्यक्ष गुरुङको भनाइ छ । भवन निर्माण भएको एक दशक बितिसक्दासमेत उद्घाटन हुन सकेको छैन ।

राजनीतिक विवादका कारण भवन उद्घाटन हुन नसकेको र आफ्नो पालामा समेत प्रयोग गर्न नपाएको दुःखेसो उहाँले गर्नुभयो । आफूलाई २०६९ बाटै विभिन्न राजनीतिक पार्टीबाट असहयोग तथा असफल बनाउने प्रयास हुँदै आउँदा नेपाल कम्युनिष्ट पार्टी एकता भएपछि विसंं २०७५ मा आफू अध्यक्ष हुँदाहुँदै पत्तो नै नदिकन नयाँ नेतृत्व गठन गरेको पूर्वअध्यक्ष गुरुङको गुनासो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button