
६ असाेज, धरान । आगामी स्थानीय र प्रदेशकाे चुनावलाई आफ्नो पक्षमा पार्न उज्यालो नेपाल पार्टीले साङ्गठनिक कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएकाे छ । यस क्रममा देशव्यापी रूपमा नेता कार्यकर्ताहरूलाई सङ्गठित र प्रशिक्षित गराउ ‘मिसन उज्यालो अभियान’ थालेको छ ।
उज्यालो नेपाल पार्टीले प्रदेश एकस्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम गत असाेज ३ र ४ गते मात्र सुनसरीको धरानमा सम्पन्न गरेको छ । पार्टी अध्यक्ष एवम् पूर्वमन्त्री कुलमान घिसिङकाे उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश एकका नेताहरू, सल्लाहकारहरू, १४ जिल्लाका अध्यक्ष एवम् पदाधिकारीहरू सहभागी थिए ।
हाेटल गाेरखामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष तथा जेन्जी नेता राजेश पोर्तेल, महासचिव तथा पूर्वमन्त्री धर्म चौधरी, सचिव एवम् उत्प्रेरक वक्ता नरबहादुर कार्की, केन्द्रीय कोषाध्यक्ष भगवतीलाल कक्षपति, स्वास्थ्य विज्ञ सरला घिसिङहरूले प्रशिक्षण दिएका थिए ।
बैठकमा अभियानका प्रदेश एक इञ्चार्ज खगेन्द्र माखिमले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै, प्रदेश अध्यक्ष विराज आङ्देम्बेले साङ्गठनिक विवरण पेश गरेका थिए । जसअनुसार तीन महिनाभित्र पार्टीले प्रत्येक जिल्ला, पालिका र वडा तहहरूमा सङ्गठन विस्तार र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेको छ । त्यस्तै, प्रदेशमा पचास हजार बढी सदस्यता वितरण गर्ने महत्वकाङ्क्षी र आक्रामक कार्ययोजना अगाडि सारेको छ ।
उनेपा प्रदेश एककाे साताैँ ठूलो दल हाे । पार्टीले गत फागुन २१ काे चुनावमा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेन । तर, समानुपातिकतर्फ २४,३१० मत प्राप्त गरेकाे थियोे ।

बैठकले पार्टी अध्यक्ष कुलमान घिसिङद्वारा प्रस्तुत हरित अर्थतन्त्र र हरित क्रान्तिकाे राजनीतिक प्रस्तावलाई पारित गरेको थियोे । हरित क्रान्तिले सामाजिक, वातावरणीय र राजनीतिक सबै क्षेत्रमा सकारात्मक र उल्लेख्य प्रभाव पार्ने घिसिङकाे दाबी थियोे । उनले पार्टीले अङ्गालेकाे सुशासन, समृद्धि र सामाजिक न्यायकाे कार्यनीतिक नारालाई हरित क्रान्तिकाे अवधारणाले सम्बाेधन गर्ने बताए ।
धरान उपमहानगर समितिले व्यवस्थापन गरेको कार्यक्रममा तीन सय बढीको सहभागिता रहेको केन्द्रीय सदस्य प्रेमराज लाओतीले जनाए । त्यस्तै, अर्का केन्द्रीय सदस्य एवम् सुनसरी इञ्चार्ज जेन्टल लाओतीले चाँडै सुनसरी जिल्लामा समेत प्रशिक्षण कार्यक्रम राख्ने बताए ।




