स्थानीय

साँगुरीगढीबाटै स्थायी लेखा नम्बर वितरण, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा । यहाँको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ । यसबाट स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

गाउँपालिका अध्यक्ष जितेन्द्र राईले मङ्गलबार पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाबाट पान दर्ता तथा वितरण सेवाको औपचारिक शुभारम्भ गरे। साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा नजिक बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बने ।

यसअघि व्यक्तिगत पान तथा नयाँ व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने पान दर्ताका लागि सेवाग्राहीले जिल्लाको सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था रहेको थियो । ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकका लागि यस्तो सेवा लिनकै लागि सदरमुकाम पुग्नु पर्दा यातायात खर्च, समय र अतिरिक्त झन्झट व्यहोर्नुपर्ने अवस्था रहँदै आएको पहिलो सेवाग्राही ईवाहाङले बताए ।

विशेषगरी गाउँपालिकाभित्र व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, उद्यमी, स्वरोजगार व्यक्ति, साना व्यवसायी र व्यक्तिगत रूपमा पान आवश्यक पर्ने नागरिकले स्थानीय तहमै सेवा प्राप्त गर्दा समय र खर्चको बचत भएको उनको भनाइ छ ।

स्थानीय व्यवसायीका लागि व्यवसाय सञ्चालनको प्रारम्भिक चरणमै विभिन्न प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । व्यवसाय दर्ता, पान दर्ता, बैंकिङ कारोबार, करसम्बन्धी प्रक्रिया तथा अन्य सरकारी कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाले साना व्यवसायीलाई थप समस्या हुने गरेको थियो ।

साँगुरीगढी गाउँपालिकामा पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटार रहेको क्षेत्र भएकाले पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, निर्माण, खुद्रा व्यापारलगायत कृषिका विभिन्न क्षेत्रमा साना तथा मझौला व्यवसाय सञ्चालन हुँदै आएका छन् । ग्रामीण क्षेत्रमा स्वरोजगार र साना उद्यमको सङ्ख्या बढ्दै जाँदा व्यवसायीलाई आवश्यक सरकारी सेवा पनि गाउँमै उपलब्ध हुँदा स्थानीयलाई ठूलो राहत भएको गाउँपालिका अध्यक्ष राईले बताए ।

यसले व्यवसायलाई औपचारिक बनाउने, सरकारी अभिलेखमा व्यवसाय तथा व्यवसायीको विवरण व्यवस्थित गर्ने र करसम्बन्धी दायित्व पूरा गर्न नागरिकलाई सहज वातावरण बनाउन सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

Related Articles

Back to top button