शिक्षक हत्या घटनामा एक जना पक्राउ

सङ्खुवासभा, १९ भदौः सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एक संकास्पद व्यक्तिाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । प्रहरीले पक्राउ परेको व्यक्तिको पहिचान खुलाएको छैन ।
प्रधानाध्यापक राईमाथि बिहीबार राति गोली प्रहार भएको हो । विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो ।
सिलिचोङ गाउँपालिका–५ याफु घर भएका प्रधानाध्यापक राई सोही विद्यालयमा बस्दैआउनु भएको थियो । उहाँ एक वर्षदेखि करारमा कार्यरत हुनुहुन्थ्यो । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल सङ्खुवासभा ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




