
काठमाडौँ, २८ साउनः यसवर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ बाट सरिता श्रेष्ठ, तीर्थमान बल र अविनाश चौधरी सम्मानित हुनुभएको छ ।
सम्मानित हुनुहुने पत्रकारलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले जनही रु २५ हजार नगद प्रदान गर्नुभएको थियो ।
पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत उहाँहरुलाई उक्त नगद राशि प्रदान गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले बताएको छ ।
त्यसैगरी, फोनिज राष्ट्रिय पत्रकारिता सम्मानबाट संस्थाका पूर्वअध्यक्ष डण्ड गुरुङ र विमला तुम्खेवालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ३१ हजार रहेको छ । त्यस्तै, सोही राशिको ‘फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान’ लहना–नेपाल भाषा साप्ताहिकलाई प्रदान गरिएको छ ।
तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको समापन समारोहमा पत्रकारलाई उक्त नगद राशि प्रदान गरिएको हो ।




