लेख

यसकारण खसहरुले जनै लगाउनु पर्दैन – टेकबहादुर थापा ‘बुद्धप्रिय’

जनै लगाउने संस्कारलाई ‘उपनयन संस्कार’ भनिन्छ । उपनयनको अर्थ ईश्वरको नजिक जानु भन्ने हुन्छ । मष्ट धर्ममा ईश्वरीय अवधारणा छैन । उपनयन संस्कार अन्तर्गत बाहुनले लगाउने जनैमा छ वटा डोरा हुन्छन् । दशनामीहरुलाई पहिला पहिला तीन डोराको मात्र जनै दिने चलन थियो ।

अहिले जनै चाइनाबाट आउँछ । हिन्दूशास्त्र अन्तर्गत ब्राम्हणीका हातले बाटेको कपासको धागोको जनै मात्र शुद्ध मानिन्छ । यसरी ब्राम्हणीका हातले बाटेको कपासको धागोबाट बनेको जनैका हरेक डोरालाई ब्रम्हा, विष्णु, महेश्वर जस्ता देवताको प्रतिक मान्ने गरिन्छ । जबकी ब्रम्हा, विष्णु, महेश्वर भन्दा ठूला देवता मष्ट देवाइ हुन् भनि मष्टधर्मको फागमा यसरी भनिएको छ ।

‘देउई न माः जैका को रे हुन्ना ठुलो
सुबुइ भन्णा देवताइमी को रे होलो ठूलो
देवता माः जैका मुन्ठाइ रे ठूला
सुबइ भन्णा देवताइमी मष्ट गुसाइ ठूला ।’

यसको अर्थ हो, देवगण मध्येका को होलान ठूला, सबै भन्दा देवतामा को होलान ठूला, देवगण मध्यका मुन्ठाइ हुन् ठूला, सबै भन्दा देवतामा मष्ट गोसाइ ठूला ।

यसरी मष्टको एतिहासिक फागले मष्ट भन्दा ठूला अरु कुनै देवाता छैनन् भनि उल्लेख गरिसकेको हुँदा मष्ट धर्मलम्बीहरुले ब्रम्हा, विष्णु, महेश्वरको शरणमा जानुपर्ने जरुरी छैन ।

मष्ट धर्म मुलतः खस जातिले मान्ने गरेको पाइन्छ । ईसापूर्व ४०० वर्ष अघि लगभग पाँचौं शताव्दीको आसपासमा हालको भारतमा पर्ने कुमाउ र गढवाल क्षेत्रको बाटोहुँदै चित्राल गिलगिट पर्वतको नाकाबाट नेपाल प्रवेश गरी बस्ती विस्तार गरेका खसहरु धेरै कालखण्डसम्म अवैदिक नै थिए । पछि साँस्कृतिक माध्यमबाट हिन्दु बनेका वा बनाइएका हुन् भन्ने एतिहासिक तथ्य घाम जस्तै छर्लंग छ भनि लेखक भिमबहादुर थापाले लेख्नु भएको छ ।

खसहरु उत्तर भारतमा आर्यहरुको आगमन हुनु पूर्व नै तिब्बतको दक्षिणी बाटो हुँदै प्रवेश गरिसकेको र त्यबेलासम्म उनीहरुमा वैदिक धर्मको कुनै प्रभाव नभएको कुरा ‘प्राचिन नेपालको राजनैतिक र साँस्कृतिक इतिहास’ नामक पुस्तकमा श्रीराम गोयलले उल्लेख गरेका छन् । खसहरु वैदिक धर्ममा अन्तर्घुलित भएर जनै धारण गर्न थालेको इतिहास त्यति पुरानो छैन ।

‘नरहरिनाथ : इतिहास प्रकाश सन्धिपत्र संग्रह’ का अनुसार सम्वत् १६१७ मा राजा गगनिराजका पालामा नौ थरका खसहरुले जनै पाएको उल्लेख छ । गोकुल बुढ्थापा, रामु विष्ट, मिचा जाडर्या, रावल उमखोला, काल्च्या धराला यतिले सर्पका रोतले जनै पाया भै छ, धौला पानी म विष्ट मष्टाका रोतले जनै : पाया भै छ । यसरी योगी नरहरिनाथले सन्धिपत्र संग्रहमा खसहरुले जनै पाएको बताएका छन् । खसहरु लामो समयसम्म अवैदिक अवस्थामा नै रहेका थिए भन्ने यो भन्दा ठूलो प्रमाण अरु खोज्नु नपर्ला ।

इसापूर्व दोश्रो शताव्दीतिर लेखिएको मनुस्मृतिमा झल्ल, मल्ल, लिच्छवी, नट, करण, खस र द्रविदलाई ब्रात्य क्षेत्रीय भनिएको छ । ब्रात्यको अर्थ तल्लो स्तरको क्षेत्री भन्ने अर्थ हुन्छ । त्यसैले मनुस्मृतिमा ब्रात्य क्षेत्रीलाई व्रतवन्ध संस्कारका लागि अयोग्य तथा गायत्री मन्त्र जप नगर्ने क्षेत्री भनि पारिभाषा गरिएबाट प्रष्ट हुन्छ कि खस जातिमा जनै लगाउने परम्परा थिएन ।

मनुस्मृतिमा खस जातिलाई ब्रिषल भएका क्षेत्रीय भनिएको छ भनि केशवमान शाक्यले ‘नेपालमा खस जाति र बुद्धधर्म’ भन्ने पुस्तकमा लेख्नु भएको छ । ब्रिषलको अर्थ शुद्र समान भन्ने हुन्छ । शुद्रको स्तरमा राखिएको खस जाति उपनयन संस्कारको लागि योग्य नभएको मनुस्मृतिले प्रष्ट पारेको छ ।

बाहुनहरुले आफ्नो व्यवसाय गर्नको लागि खसहरुलाई जनै र गोत्र दिएको भनि डोरबहादुर विष्टले लेखेका छन् । वैदिक ब्राम्हणहरुले भलो चिताएर खसहरुलाई जनै र गोत्र दिएको होइन, किन भने वैदिक ब्राम्हणहरु क्षेत्रीहरुको बिनासमा वैैदिक कालदेखि नै लागेको देखिन्छ । वैदिक शास्त्रको कुरा गर्ने हो भने बाहुन ऋषि जम्दग्नीका छोरा परशुरामले पृथ्वीलाई १७ पटक क्षेत्री विहीन गरेर क्षेत्रीहरुको सर्वनास गरेका थिए ।

नन्द साम्राज्यका राजकुमारसँग सानो विवाद भएपछि चाणक्य (बाहुन) ले नन्द साम्राज्य नष्ट गर्ने प्रतिज्ञा गरि आखिर त्यत्रो ठूलो साम्राज्य ध्वस्त पारे । महान सम्राट अशोकले बुद्ध धर्म ग्रहण गरेपछि आफ्नो दान खाने व्यवसाय धरापमा परेकाले जाल झेल गरेर सम्राट अशोकका उतराधिकारी सम्राट ब्रिहद्रथलाई धोखा दिई हत्या गरेर बाहुन जर्नेल पुश्यमित्र आफै सम्राट बनेर सारा उत्तरी भारतबाट क्षेत्री राजाहरुलाई सखाप पारेर ३०० वर्ष सम्म क्षेत्री राजा विहीन बनाई दिए ।

नेपालकै कुरा गर्ने हो भने पनि सोझा साझा खसहरुलाई हिन्दु बनाएर आफ्नो व्यापार सुरु गरे र त्यस बेलादेखि अहिले सम्म पनि धर्मका नाउमा सामाजिक र आर्थिक शोषण कायम छ भन्ने इतिहासविद यामबहादुर चन्दको तर्क छ ।

पण्डित विजयराजले कपटपूर्वक जंगबहादुरलाई साथ दिएर सत्तामा आरोहण गराए पछि उनै जंगबहादुरले खसहरुलाई खस लेख्नबाट बञ्चित गरेका थिए । त्यसैले वैदिक ब्राम्हणहरुले भिराइ दिएको जनैले खसहरुको उन्नती, प्रगती होइन बरु अवन्नती मात्र हुनेछ भन्ने माथिको दृष्टान्त हेरे पुग्छ ।

हिन्दु धर्मको स्कन्द पुराणमा षोडशोपचार पूजा अन्तर्गत अष्टम उपचारमा एउटा श्लोक जनैका बारेमा रहेको छ । ब्रम्हाद्वारा नारदलाई जनैका बारेमा उपदेश दिँदाको श्लोकमा भनिएको छ :

‘जन्मना जायते शूद्रः संस्कारात द्विज उच्यते,
शापानुग्रहसामथ्र्यं तथा क्रोधः प्रसन्नता ।’

यसको अर्थ हो, जनै नलगाएसम्म जन्मदा ब्राम्हण नै भए पनि संस्कारले शुद्र नै हुन्छ, जनै धारण गरेपछि वेद अध्ययन गर्न योग्य हुन्छ भन्ने हो । मष्ट धर्ममा वेद अध्ययन गर्न अनिवार्य नभएको हुँदा जनै लगाएर वेद अध्ययन गर्न र यज्ञ गर्न योग्य हुनुपर्ने प्रावधान नभएको हुँदा जनै लगाउनु पर्दैन ।

हिन्दूहरुले श्रावण शुक्ला पुर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गर्दछन् । उक्त दिन पुरानो जनै फालेर नयाँ जनै फेर्ने गरिन्छ । खसहरुको आफ्नो मौलिक धर्म हिन्दू होइन, मष्ट हो । त्यसैले खसहरुले साउने पुन्नीका दिन जनै फेर्नु पर्दैन किनकी हिन्दू शास्त्रले नै खसहरुलाई जनै लगाउन अयोग्य जाति भनेको छ । जनैको बारेमा विद्वान लेखक चन्द्रप्रकाश बाँनिया लेख्नु हुन्छ”-जनै जातको प्रतीक हो । जहिलेसम्म जात व्यवस्था रहन्छ तवसम्म समाजमा जातीय विभेद र वैमनस्य जीवित रहन्छ । जात उन्मूल गरिनुपर्ने विषय हो ।
जनै पूर्णिमालाई विशेष पर्व मानेर सार्वजनिक विदा दिनु जात व्यवस्थाको पक्षपोषण गर्नु हो । जातभेदलाई प्रश्रय दिनु हो । मानव जातिलाई जन्मैले ठूलो सानो मान्ने चलनलाई प्रोत्साहन गर्नु हो ।” त्यसैले, यो जनै पुर्णिमा वर्ण व्यवस्था मान्नेहरुको मात्र चाड हो । वर्ण व्यवस्था भित्रकै शूद्रले पनि हीनताबोध गर्ने दिन हो । किनकि शुद्रलाई जनै लगाउने अधिकार छैन | अबैदिक अर्थात गैर हिन्दूको लागि यसको कुनै औचित्य छैन । वर्ण ब्यबस्थालाई मल जल गर्ने यो पर्वलाई संस्कृति भनेर जोगाउने होइन, विकृति भनेर मास्नु पर्छ । त्यसैले ॠषितर्पणि पुर्णेका दिन सार्वजनिक विदा दिने चलन गलत हो भनि लेखक बाँनियाले लेख्नु भएको छ |

श्रावण शुक्ला पुर्णिमा मष्ट देवाताको विशेष पूजा गर्ने दिन पनि हो । मष्ट गोसाइको घर माण्डौ वा वन माण्डौमा सुख, शान्ति तथा रोग विनाशका लागि पूजा गर्ने, धुपबत्ती बाल्ने र पूजा पश्चात प्रसादको रुपमा धामी वा घरको मुलीबाट गोसाइलाई चढाएको आलम (राता, सेता, पहेला) धजा, वा डोरा ग्रहण गर्ने चलन छ ।

मष्टका धामी अरुण क्षेत्रीले श्रावण शुक्ला पुर्णिमाका दिन मष्ट देउको किन पूजा गरिन्छ ? भन्ने बारेमा यसरी लेख्नु भएकोछ, ‘श्रावण शुक्ला पुर्णिमामा बाह्र भाई मष्टो, नौ बहिनी भुवानी र अठार लाडेरो माथि अथाह श्रद्धा, प्रेम राखेर धुपध्वाँर गरिने गरिन्छ ।’

साउने पुन्नीका दिन गरिने यस् किसिमको उपासनाले महामष्टको असिम कृपा प्राप्त हुने विश्वास गरिएको छ । हामी माझ प्रेमभाव, एकता, धैर्य, दृढता आदिका शुभ गुणमा बढोत्तरी हुने हुँदा श्रावण शुक्ला पुर्णिमाका दिन मष्ट गोसाइको पूजा गरिन्छ ।’

(लेखक विश्व मष्टधर्म महासंघका केन्द्रिय सचिव हुन् ।)

Related Articles

Leave a Reply

Back to top button