साहित्य सिर्जना

एनआरएनए आइसिसिको साहित्य समिति गठन, यसै जुलाई १३ मा आदिकवि भानु जयन्ती मनाइँदै

लन्डन, ९ जुलाई २०२६।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान सन् २००३ (संशोधन २०२२) को दफा १७.८ को विभाग तथा समिति गठन र दफा २०.७ को एनआरएनए पेशागत तथा प्राज्ञिक एकाइ अन्तर्गत गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को साहित्य समिति गठन भएको कुरा एक विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

एनआरएनए आइसिसिका उपाध्यक्ष तथा साहित्य समितिका संयोजक विश्वास दीप तिगेलाद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार सदस्यहरूमा क्रमशः अमित थेवे (नेपाल/युके), विनय शाह (हङकङ), डा. लेखनाथ काफ्ले (ताइवान), डेन्जाम साम्पाङ (अमेरिका), डा. मनमूर्ति भुर्तेल (रूस), केदार संकेत (युके), नवराज न्यौपाने (नेदरल्यान्ड्स), रवीन्द्र राई (जापान), नगेन्द्र इङ्नाम (अमेरिका), रीता देवी प्रधान (सान फ्रान्सिस्को, अमेरिका), कृष्णदत्त भट्ट (केन्या), बैकुण्ठ आचार्य (अमेरिका) र गोमा राना (युके) चयन हुनुभएको छ। यसै गरी सल्लाहकारहरूमा क्रमशः जीवा लामिछाने (जर्मनी), हिक्मत थापा (नाइजेरिया), गोविन्द गौतम (रूस) र नवराज पोखरेल (रोमानिया) रहनुभएको छ।

एनआरएनए आइसिसि अन्तर्गत संयोजक तिगेलाले साहित्य विभागको जिम्मेवारी सम्हालेको यो तेस्रो पटक हो। साहित्य विभागले नेपाल प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा विभिन्न साहित्यिक गतिविधि एवं प्रकाशन गर्दै आएको छ।

यसै जुलाई १३ का दिन नेपाली भाषाका आदिकवि भानुभक्त तथा घाँसीको सम्मानमा भर्चुअल कार्यक्रम गरिने भएको छ। कार्यक्रममा आदिकवि र घाँसीको चर्चासँगै प्रा. डा. कुमार कोइरालाले आख्यान लेखनका लागि आवश्यक तत्वबारे प्रस्तुतीकरण (प्रेजेन्टेसन) गर्नुहुनेछ भने साहित्यकार केदार संकेतले भानु र घाँसीको बारेमा चर्चा गर्नुहुनेछ। कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई लगायतका अतिथिहरूको उपस्थिति रहने जनाइएको छ। सहभागीहरूलाई आफ्नो सिर्जनासहित उपस्थित हुन आग्रह गरिएको छ।

Related Articles

Back to top button