लघुकथा – यथार्थता : शुभचन्द्र राई
पुल्टुङ्गे कामी, कामी गाउँका मनग्गे जल्दाबल्दा नेता थिए । उनी आफूलाई प्रखर प्रगतिवादी बुज्रुक खाट्टी कम्निष्ट राजनीतिज्ञ ठान्दथ्यो । कामी गाउँमा उनको मनग्गे रापताप थियो । चुनावको बेला कामी गाउँमा पुल्टुङ्गेको बढ्तै फूर्ती हुन्थ्यो । फलानो नेताले मलाई नै बोलाएर भनेका अब दलितहरुको पनि दिन फिर्ने भयो । फलानो पार्टीले चूनाव जित्यो भने हाम्रो मुक्ति निश्चित छ । मुलुकी ऐनले हामीलाई अधिकार दिए पनि अहिले सम्म यो व्यवहारमा लागु हुन सकेन यसको कारण पार्टीहरुकै कमजोरी हो त्यसैले यसपाली मैले भनेकै पार्टीलाई भोट लगाउनु पर्छ, ग्यारेण्टी दिने म भएँ यो पार्टीले जिते पछि चाहि हामीले अधिकार पाउने कुरामा कुनै शंकै छैन । पुल्टुङ्गे कामीहरुलाई फुर्काउथे र पार्टीहरुको लागि भोट झार्थे । पुल्टुङ्गे कामी, कामीहरुको भोट झार्ने राम्रो सिढी थियो ।
एक पल्ट गाउँमा मन्त्री आउने भए । मन्त्रीको स्वागतमा ठूलो जनसहभागिता देखाउन पर्ने भयो । पुल्टुङ्गेले फेरी काम पायो । कामी गाउँका खराव खुरुप कामीहरु बटुलेर कार्यक्रम स्थलमा ल्याउने जिम्मा पुल्टुङ्गेको पोल्टामा पर्यो । गा.पा.अध्यक्षबाट यस कामको लागि उनले राम्रै नजराना पनि पाए । फुर्काएर, फुलाएर, डरदेखाएर, धम्काएर, जाँड खुवाएर पनि मन्त्रीको सवारीको दिन पुल्टुङ्गेले साँच्चै सबै कामीहरुलाई सभा स्थलमा फालिन गराए । दलितहरुको उल्लेख्य उपस्थिति देखेर मन्त्रीज्यूले भाषणकै क्रममा हौसिएर भन्नु भयो– “जबसम्म छुवाछुतको प्रथा कायम रहन्छ, उचनिच, ठूलोसानो जातभन्ने भेदभाव कायम रहन्छ तव सम्म यो देश समाजले विकासको गति पक्रन सक्दैन त्यसैले कानूनले पनि छुवाछुत प्रथालाई हटाइसकेको छ । तपाई दलितहरु निर्धक्क भएर समाजमा बाँच्न पाउनु हुन्छ । हामीसँगै बसेर खान सक्नुहुन्छ, हाम्रो घरभित्र छिर्न तपाईहरुलाई कसैले रोक्न सक्दैन ।” दलितहरुले जोस्सिएर ताली पड्काए । मन्त्रीको भाषणले पुल्टुङ्गे कामी हुनसम्म मख्ख परे । अरु दलितहरु पनि अघोरै रमाए ।
सभा समाप्त भयो । जनसमुदाय आ–आफ्नो घर तर्फ लागे । गा.पा.भवनको हलमै मन्त्रीज्यू तथा आमन्त्रित अतिथिहरुलाई रात्रिभोजको आयोजना गरिएको थियो । वडाध्यक्षज्यूहरु, गाउँका गन्यमान्यहरु, मन्त्रीज्यूसँग पाल्नुभएका विशिष्ट पाहुनाहरुको लागि तीनवटा जखमले खसी ढालिएको थियो । गाउँको शुद्ध कोदोको तीनपाने र भाति जाँडको निगार पनि भुटुवासँग रात्रिभोजलाई विशेष व्यवस्था गरिएको थियो ।
गा.पा. हलभित्र पाहुनाहरुको प्रबेश पश्चात रात्रिभोज शुरु भयो । पुल्टुङ्गे कामीलाई पनि कामी गाउँको नेताको हैसियतले रात्रिभोजमा निम्तो थियो । उनी ठीक समयमा भोज समारोह स्थलमा टुपुल्किए । उनले भोजहल भित्र पाइला के छिराउनै आँटेका थिए गा.पा.अध्यक्षज्यू झम्टिएर उहाँ छेउ आउनु भयो र विन्ति गर्दै भन्नु भयो–“पुल्टुङ्गेजी आज चै कृपया भित्र नछिरिदिनु होला भित्र मन्त्रीज्यू र विशेष पाहुनहरुको भोज चल्दैछ ।” अध्यक्षज्यूले एकजना काम गर्नेलाई अह्राए “ए रामे यहाँ पुल्टुङ्गे कामीज्यूलाई बाहिरै खान्ते पिन्तेको व्यवस्था गर लु छिटो…..।”
पुल्टुङ्गे कामीको भोज हलभित्र छिर्नै आँटेको खुट्टा जहींको तही रोकिए । उनी केही बोल्न सकेनन् । पुल्टुङ्गेले बिस्तारै आफ्नो पाइला पछाडी सारे र निउरो मुन्टो पारेर भोज स्थलबाट बाहिर निस्के । पाछाडिबाट कसैले उसलाई डाक्दै थियो पुल्टुङ्गेज्यू….!
ओ पुल्टुङ्गेज्यू…….!!