समाचारसाहित्य सिर्जना

कवि यक्साेकाे ‘सम्झनाकाे चाेमाेलुङ्मा’ सार्वजनिक

२४ मे, काठमाडौं । कवि रोशन यक्सोको कविता सङ्ग्रह ‘सम्झनाको चोमोलुङ्मा’ विमोचन भएको छ । सम्भव समूहको आयोजनामा युनियन हाउसको चोमोलुङमा हलमा विमोचित कृतिमाथि प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई,वक्ताद्वय विमला तुम्खेवा र शकुन्तला जोशीले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईले कवि यक्सोका कविताहरूले गणतान्त्रिक संस्कार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

विमाेचन भएको कविता सङ्ग्रह ।

वक्ता विमला तुम्खेवाले कृतिमाथि बोल्दै कवि यक्सोका कविता सामाजिक न्याय स्थापनाको निम्ति बुलन्द आवाज सहित प्रस्तुत भएको बताइन् । अर्का वक्ता शकुन्तला जोशीले अधिकांश कविताहरूमा समाज रुपान्तरणको लागि भएका विभिन्न खाले आन्दोलनको प्रतिबिम्ब चित्रित भएको उल्लेख गरिन् ।

पुख्र्यौली ताप्लेजुङको आठराई (हाल आठराई-त्रिवेणी गाउँपालिका)काे हाङपाङ घर भएका कवि यक्साे हङकङमा बसाेबास गर्छन् । उनी हङकङ साहित्यिक साझा श्रङ्खलाका सह-संयाेजक समेत हुन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै कवि यक्साे ।

कार्यक्रममा कवि श्रवण मुकारुङ, प्राज्ञ राजन मुकारुङ, बिना थिङ, डा‍.केशव सिलवाल, स्वप्निल स्मृति,लक्ष्मी रुम्बा, चन्द्रवीर तुम्बापो, डा.तुलसी गौतम, एलिसा एकलास, अन्जना राई,मुक्तान थेवा, रीमा केसी, सीता तुम्खेवा लगायतका सर्जकहरूकाे उपस्थिति रहेको थियो।

Related Articles

Back to top button