NRNA Special

काठमाडौँ र धुलिखेलमा गैरआवासीय नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन हुने

काठमाडौँ — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सन् २०२७ को जनवरी २ देखि ७ सम्म (२०८३ पुस १८ देखि २३ गतेसम्म) काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ। छदिने कार्यक्रमको मुख्य सम्मेलन जनवरी ३ मा काठमाडौँमा हुनेछ।

आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले विदेशमा जन्मेहुर्केका र शिक्षा हासिल गरेका नेपाली युवालाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र संस्थागत विकाससँग जोड्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए। ‘कनेक्ट | एक्सप्लोर | शेप’ नारासहित आयोजना हुने सम्मेलनले शिक्षा, व्यवसाय, प्रविधि र अनुसन्धानलगायतका क्षेत्रमा कार्यरत युवाको ज्ञान, सीप, पुँजी र अन्तर्राष्ट्रिय सम्पर्कलाई नेपालको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेछ।

“दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति, पहिचान र अपनत्वको भावना प्रवर्द्धन गर्दै एनआरएनए अभियानमा उनीहरूको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्नु सम्मेलनको प्राथमिकता रहनेछ,” शर्माले भने।

सम्मेलनकी संयोजक तथा एनआरएनए आईसीसीकी उपमहासचिव अनुजा प्रधानले विभिन्न देशमा बस्ने नेपाली मूलका युवालाई एकअर्कासँग चिनजान गर्न, अनुभव साट्न र नेपालसँगको भावनात्मक तथा व्यावसायिक सम्बन्ध बलियो बनाउन सम्मेलनले साझा मञ्च दिने बताइन्।

जनवरी ३ को मुख्य सम्मेलनमा विज्ञ, युवा नेतृत्व र विभिन्न पेसामा संलग्न व्यक्तिहरूले पाँचवटा विषयगत सत्रमा भाग लिनेछन्।
– संस्कृति र पहिचान — नेपाली भाषा र सांस्कृतिक सम्पदा नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने भन्नेबारे छलफल हुनेछ।
– सीप र ज्ञान हस्तान्तरण — विदेशमा रहेका युवाको ज्ञान र अनुभवलाई नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र परोपकारका क्षेत्रमा उपयोग गर्ने उपाय खोजिनेछ।
– नीति र कानुनी व्यवस्था — गैरआवासीय नेपाली नागरिकता, पेसागत इजाजतपत्र, नेपालमा व्यवसाय सञ्चालनका चुनौती र संस्थागत सहभागिताबारे छलफल हुनेछ।
– उद्यमशीलता र लगानी — विभिन्न देशका उद्यमीबीच सहकार्य, लगानी र व्यवसाय विस्तारका अवसर खोजिनेछ।
– युवा नेतृत्व र संस्थागत सुधार — दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल सुदृढ गर्ने र युवाका अपेक्षाअनुसार एनआरएनएको नीति तथा विधानमा आवश्यक सुधारबारे छलफल हुनेछ।
आयोजकका अनुसार सम्मेलनसँगै तय गरिएको छदिने ‘डिस्कभर नेपाल’ कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्ने सम्भावना छ। जनवरी २ मा काठमाडौँमा स्वागत तथा उद्घाटन समारोह हुनेछ, जहाँ विभिन्न देशबाट आएका सहभागीले एकअर्कासँग परिचय गर्ने अवसर पाउनेछन्। जनवरी ३ को मुख्य सम्मेलनमा भावी सहकार्यको कार्ययोजना तयार गर्न छुट्टै सत्र राखिएको छ।

जनवरी ४ मा सहभागीले काठमाडौँ, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, ऐतिहासिक सम्पदा र परम्परागत हस्तकला केन्द्रको भ्रमण गर्नेछन्। जनवरी ५ मा काठमाडौँमा लोकतन्त्र, सुशासन र सार्वजनिक नीतिसँग सम्बन्धित संस्थाको भ्रमण तथा अन्तरक्रिया हुनेछ।

जनवरी ६ र ७ मा धुलिखेलमा हुने ‘हिमालयन एस्केप’ कार्यक्रममा योग, ध्यान र प्रकृति अवलोकनसँगै दोस्रो पुस्ताका आगामी प्राथमिकता र कार्ययोजना तय गर्न कार्यशाला हुनेछ। जनवरी ७ को साँझ काठमाडौँमा साङ्गीतिक कार्यक्रम र रात्रिभोजसँगै सम्मेलन समापन हुनेछ।

जस्मिन सैयदले सञ्चालन गरेको पत्रकार सम्मेलनमा समिरा केसी, करुणा रावत, इभान शर्मा, कृति महतो, विश्वजित बी. थापा, जागृत पौडेल, रोबर्ट विश्वकर्मा र गौरवराज केसीले विभिन्न सत्रबारे प्रस्तुति दिएका थिए। एनआरएनएले नेपाल सरकार, सम्बन्धित निकाय, आफ्ना सबै राष्ट्रिय समन्वय परिषद्, सञ्चारकर्मी र अन्य सरोकारवालालाई सम्मेलनमा सहभागी हुन र सहयोग गर्न आग्रह गरेको छ।

Related Articles

Back to top button