‘रगतको तर्पण’ कविता कृतिउपर धरानमा चर्चा
१८ जनवरी, विजयपुर । रोल्पाली कवि प्रेमप्रकाशको ‘रगतको तर्पण’ कविता सङ्ग्रहमाथि सुनसरीको धरानमा विमर्श भएको छ । कलरव धरानले शनिबार बिहान कृतिमाथि विमर्श कार्यक्रम आयोजना गरेको हाे ।
हाेटल रत्न इनकाे सभा हलमा भएको विमर्शमा पुस्तक उपर वक्ताद्वय कवि डा. अस्मिता विष्ट र कवि अमित थेवेले चर्चा परिचर्चा गरे । डा. अस्मिता विष्टले भनिन्, ‘प्रेमप्रकाशको कवितामा रोल्पाको भूगोल मात्रै हैन, त्यहाँको मगर संस्कृतिको कुरा पनि आएको छ ।’ उनले प्रेमप्रकाशको कवितामा इतिहास र दर्शन मात्रै नभई प्रेम पनि भएको बताइन् ।
त्यस्तै, कवि अमित थेवेले कवि प्रेमप्रकाश घर्ती मगरकाे कवितामा जनयुद्धकाे समय र युद्धविरामपछिकाे अवस्था चित्रण भएको बताए । उनले युद्ध साहित्यमातहत केही कविताहरू राख्न सकिने भन्दै कम्युनिष्ट विचारधारा मात्रै नभएर आदिवासीवादमा आधारित सिर्जनाहरू पनि रहेको जनाए । तीन खण्डमा विभाजिच सङ्ग्रहमा ४२ थान कविताहरू रहेका छन् । कवि प्रेमप्रकाश प्रगतिशील विचारधाराबाट प्रभावित भएर सिर्जना गर्ने सर्जकका रूपमा चिनिन्छन् । राेल्पाकाे दुर्गम गाउँमा उवामा जन्मिएका उनका गजल, नियात्रा र गीति सङ्ग्रह पनि प्रकाशित भइसकेका छन् ।
परिचर्चा कार्यक्रममा कविहरू सविता फागो चोङबाङ, युग सर्वनाम र विशाल नाल्वाेले सङ्ग्रहबाट एक एक कविता वाचन गरेका थिए । कार्यक्रममा कवि प्रेमप्रकाशले आफ्नो कविता सङ्ग्रहको परिचर्चा भएकोमा खुसी व्यक्त गर्दै उनले नेपालको राजनीतिक इतिहासमा रोल्पाप्रति रहेको गलत भाष्यलाई ताेड्न आफू लेखक भएको बताए । उनलेे एक कविता पनि वाचन गरेका थिए । प्रेमप्रकाशको कविताले रोल्पाको भूगोलसँगै संस्कृतिलाई पनि उठाएको कलरव धरानका संयाेजक एवम् कवि सुदीप पाख्रिनले जनाए । कार्यक्रम इन्दु याेञ्जनले सञ्चालन गरेका थिए ।
कार्यक्रममा कविहरू हेमन यात्री, चन्द्र गुरुङ, राज माङ्लाक, राजेश विद्राेह, उत्तम तुम्सा, राेशन परियार, भीम विरही राई, करुणा राई, जेवी निखुन्त, विवेक रेग्मी, प्रवेग हाङस्राेङ, मणि गाेठाले, गजलकारहरू श्रेष्ठ परिक्रमा, राेम ढुङ्गेल, स्वातिका राई, लेखक नेत्र नेम्वाङ, सनम तामाङ, एभलेट फुङ, रङ्गकर्मी जाेरास दाहाल, टीका चेम्जोङ लगायतको उपस्थिति रहेको थियोे ।