समाचार
उज्यालो नेपाल पार्टीकाे स्थापना दिवस : काठमाडौँमा रक्तदान र कुलमानको सम्बोधन, धरानमा दीप प्रज्ज्वलन

२१ नाेभेम्बर, काठमाडौँ / धरान । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा शनिबार काठमाडौँ र धरानसहित देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी पहिलो वर्षगाँठ मनाएको छ ।
पार्टी निर्वाचन आयोगमा दर्ता भई स्थापना भएको एक वर्ष पूरा भएको सन्दर्भमा काठमाडौँको त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा रक्तदान तथा विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको थियो। पार्टीले तय गरेको तालिकाअनुसार शनिबार बिहान ११ बजे त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ भने दिउँसो ४ बजे पार्टी अध्यक्ष कुलमान घिसिङले पार्टीको नीति, समसामयिक राजनीतिक अवस्था तथा आगामी कार्यदिशालाई लिएर विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, प्रथम स्थापना दिवसकै अवसरमा शनिबार साँझ सुनसरीको धरानस्थित मुख्य केन्द्र भानुचोकमा पनि भव्य दीप प्रज्ज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ। साँझको समयमा भानुचोकस्थित सडकमा सेतो रङले नेपालको नक्सा र सूर्यको आकृति कोरेर त्यसको वरिपरि दर्जनौँ मैनबत्ती (दीप) बालेर स्थापना दिवस मनाइएको थियो ।
उज्यालो नेपाल पार्टी धरान उपमहानगर अध्यक्ष अमित थेबेले सञ्चालन गरेकाे उक्त कोणसभालाई पार्टीका सङ्घीय सदस्य एवम् प्रदेश एक इञ्चार्ज जेन्टल लाओती, प्रदेश एक भेला संयोजक केदार धिमाल, नेता इन्द्र किराती, प्रदेश सदस्य युमेनहाङ राई, विकास तामाङ लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । वक्ताहरूले पार्टीको एक वर्षे यात्रा र भावी कार्यदिशाबारे प्रकाश पार्दै परम्परागत राजनीतिक सोच, भ्रष्टाचार र कुशासनको अन्त्य गरी देशमा सुशासन, आर्थिक रूपान्तरण र रोजगारी सिर्जना गर्ने पार्टीको मुख्य लक्ष्य रहेको बताएका थिए ।
मुलुकमा भएको जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक शक्तिहरूको उदय हुने क्रममा २०८२ साल मङ्सिर ०५ गते घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीको स्थापना भएको थियो । सुशासन प्रवर्द्धन, स्वदेशमै रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणको मूल मुद्दासहित स्थापित यस पार्टीले एक वर्ष पूरा गरेको अवसरमा देशभर उत्साहजनक रूपमा वार्षिकोत्सव मनाएको हो ।




