प्रवासमनोरञ्जन

कलाकार निरा थापालाई बेलायत मगर भवनमा बिदाइ

बेलायत, २१ जुन (आइतबार) – नेपालकी चर्चित लोक तथा मौलिक संस्कृतिप्रेमी कलाकार निरा थापालाई बेलायत फ़ार्नबोरो स्थित मगर भवनमा एक विशेष कार्यक्रमबीच भावुक बिदाइ गरिएको छ। कार्यक्रममा अध्यक्ष वीर बलालको अध्यक्षतामा, संस्थापक अध्यक्ष सुनिल राना, पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति, मगर संघ यूकेका वर्तमान अनि पुर्व अध्यक्षहरु/ट्रस्टीहरु, लेडीज कमिटीका अध्यक्ष, पदाधिकारी, सल्हाकारहरू लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

बिदाइ समारोहमा बोल्दै निरा थापाले बेलायत बसाइका क्रममा प्राप्त गरेको माया, सम्मान र साथप्रति आभार व्यक्त गरिन्। उनले माघे सङ्क्रान्तिको अवसरमा मगर संघ यूएचएसबी शाखाको निमन्त्रणामा बेलायत आएको स्मरण गर्दै यहाँको बसाइ आफ्नो लागि अविस्मरणीय बनेको बताइन्।

निरा थापा र मनसुदन थापाको सहकार्यमा बेलायतमै मौलिक कौराहा गीत “आकाशैको झिलिमिली तारा” को रेकर्डिङ तथा छायाङ्कन सम्पन्न भएको जानकारी दिँदै उनले दर्शक–श्रोताबाट प्राप्त माया र हौसलाले आफूलाई थप उत्साहित बनाएको बताइन्।

दर्शक–श्रोताको मीठो माया लिएर नेपाल फर्किंदै छु, भन्दै उनले भावुक मन्तव्य व्यक्त गरेपछि कार्यक्रम स्थलको वातावरण नै भावुक बनेको थियो। उनको भनाइ सुनेर उपस्थित धेरै सहभागीहरू पनि भावुक बनेका थिए।

कार्यक्रममा वक्ताहरूले निरा थापाले नेपाली मौलिक कला, संस्कृति र कौराहा गीत–संगीतको प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कार्यमार्फत नेपाली कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफलताको शुभकामना दिएका थिए।

समारोहको अन्त्यमा कलाकार निरा थापालाई उपस्थित सबैले मायाको चिनो तथा शुभकामना प्रदान गर्दै सफल यात्रा र उज्ज्वल भविष्यको कामना गरिएको थियो।

Related Articles

Back to top button