विश्वव्यापी पर्या कविता प्रतियोगिता सम्पन्न, ३ सय कविहरुको सहभागिताः भट्ट प्रथम

हङकङ । गत २२ अप्रिल, गैर–आवासीय नेपाली संघ हङकङ लिमिटेडको आयोजनामा भएको नेपाली पर्या कविता प्रतियोगितामा धादिङ्गका राजेन्द्र भट्ट प्रथम भएका छन् ।
मानवले प्रकृतिबाट सबै पाएको छ, तर आज प्रकृतिलाई सम्मान होइन, शोषण र ढोंग मात्र दिन्छ, त्यसैले रुखले मानवको ‘कविता’ र ‘पर्यावरणीय नाटक’बाट निवृत्त हुने घोषणा गर्छ भन्दै, “रुखको रिटायर्मेन्ट पत्र” शिर्षकमा कविता कोरेका कवि भट्ट वातावरण, इतिहास, संस्कृति र पर्यटनसम्बन्धी विषयमा लेखन तथा अनुसन्धानकर्ता पनि हुन् ।
प्रदूषण र मानव–केन्द्रित विकासले प्रकृतिलाई निस्सासिँदै लगेको पीडा र त्यसले मानव भविष्यमा ल्याउने भयावह परिणामबारे चेतावनी दिदैं “मैलो क्यानभासको निस्सासिंदो यात्री” कविताका रचयिता निर्जला लम्साल सूर्यगढी, नुवाकोटमा जन्मनु भएर हाल टेक्सस स्टेट युनिभर्सिटी, अमेरिकामा अध्ययनरत हुनुहुन्छ । उनको कविताले दोस्रो स्थान ओगट्न सफल भएको छ । तेस्रो स्थान प्राप्त गर्न सफल “आकाश माथि धुवाँको हस्ताक्षर” शिर्षकको कविताले आधुनिक विकास, औद्योगिकीकरण र मानव–निर्मित प्रदूषणले प्रकृति, इतिहास, सभ्यता र पृथ्वीको जीवनधारामा पारेको विनाशकारी प्रभावलाई कलात्मकरुपमा चित्रण गरेको छ । प्रदूषण र गलत विकासले प्रकृति, इतिहास र सभ्यतालाई नष्ट गर्दै लगेको चेतावनी पनि हो, तर मानवले आफ्नो गल्ती पहिचान गरे प्रकृति पुनः जीवन्त बन्न सक्ने आशा पनि बोकेको छ भन्ने सन्देश दिने कविताकी रचयिता अन्चु सुबेदी, नेपालको झापा बिर्तामोडको बासिन्दा हुन ।
यसका अतिरिक्त प्राप्त तीनसय भन्दा बढि रचनाहरूबाट २० उकृष्टलाई शान्त्वना पुरस्कारबाट सम्मानित गरिएको छ । २० सान्त्वना पुरस्कारबाट पुरस्कृत हुनेहरूमा क्रमशः मुरारी सिग्देल, नरोत्तम श्रेष्ठ (काठमाडौं) राजु उवरकोटी (तनहू), राजु उवरकोटी (दार्चुला), प्रताप चौलागाई (काभ्रेपलान्चोक), जमुना भटटराई (अमेरिका), भरत थापा (धनकुटा), गोमा श्रेष्ठ (लम्जुङ), सुदर्शन प्रधान (अष्ट्रेलिया), डा. आस बहादुर तामाङ (लम्जुङ), गायत्रि कुलुङ (पूर्वी अफ्रिका), होम रानामगर (हङकङ), डा. कमला तामाङ (मिरिक भारत), डा. नबीनबन्धु पहाडी (धादिङ), दीर्घबहादुर चन्द (काठमाडौं), राजेश सापकोटा (नर्वे), रोसन आपगाई (जापान), सिमा ढुंगाना (जर्मनी), डा. देवेन सापकोटा (असम भारत), डिइबी सिकारु (जापान), सुशिला शर्मा धमला (ओखलढुंगा) पुरस्कृत भएका छन ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदद्धारा आयोजित पहिलो साहित्यिक कार्यक्रमलाई गैर–आवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष तथा साहित्य बिभाग प्रमुख बिश्वास दीप तिगेलाले ‘पर्या कविता प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली साहित्य प्रति समर्पित रहनु भएका सम्पूर्ण सहभागी स्रष्टाहरूलाई साहित्यिक सेवाको उच्च कदर गर्दै हार्दिक सम्मान अर्पण ब्यक्त गरे । रचनाकारहरूका शब्दहरूले प्रकृतिको पीडा बोले, वातावरणको चेतना जगाए र नेपाली साहित्यलाई विश्वसामु उज्यालो बनाउने काम गरे, तिगेलाले “यही नै हाम्रो सामूहिक गर्व भएको बताए । उत्कृष्ट सिर्जना मार्फत मन जित्न सफल बिजेताहरूलाई हार्दिक बधाई तथा उज्ज्वल साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गर्दै साहित्यकारहरूको कलमले वातावरणीय चेतना फैलाउने मात्र होइन, नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचानलाई अझ सबल बनाउने विश्वास लिएको बताए ।
यस्तै यस प्रतियोगिताको विश्व संयोजक रहनु भएको बिजय हितानले “विश्व पर्या कविता प्रतियोगितामा भाग लिनुहुने सम्पूर्ण स्रष्टा कविहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्रष्टाहरूको कलमले पर्यावरण संरक्षणको सन्देशलाई अझ सशक्त बनाएको बताए साथै यस प्रतियोगितामा विजयी हुन सफल सम्पूर्ण कवि मित्रहरूलाई हार्दिक बधाई दिए । फक्सटन, वेलायत निवासी श्री हितानज्यू नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।
प्रतियोगिताको नतिजा घोषणा तथा समापन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका साहित्यकार राजकुमार राईले गैर–आवासीय नेपाली संघ हङकङ आयोजना गरेको यस प्रतियोगिता सहभागि हुनु भएको सम्पूर्ण नै बिजयी हुनु भएको हो भन्दै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुहुने रचनाकारहरूको नाम घोषणा गर्नु भयो । प्रमुख अतिथि राईले प्रतियोगिता आफैमा महत्वपूर्ण र शान्दर्भिक रहेको बताउँदै यसलाई साहित्यको साथसाथै ब्यवहारमा पनि उतार्नु पर्ने आवश्यकता ओल्याए ।
प्रतियोगितामा प्राप्त रचनाहरूलाई राधिका गौतम कल्पित, लक्ष्मी रुम्बा र भावेश भुमरीले निर्णायक भूमिका निभाएका थिए ।

कार्यक्रम सञ्चालन गर्दै संस्थाका महासचिव तथा प्रतियोगिता संयोजक भबिन लिम्बुले विश्वव्यापी पर्यावरण कविता प्रतियोगिता–समापन तथा परिणाम सार्वजनिक समारोहमा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा अभिवादन गर्दै भन्नुभयो, “आज हामी केवल एउटा प्रतियोगिताको अन्त्यमा मात्र छैनौँ, हामी वातावरणीय चेतना, साहित्यिक सिर्जनशीलता र पृथ्वीप्रतिको सामूहिक जिम्मेवारीलाई एकै मञ्चमा जोड्ने ऐतिहासिक क्षणका साक्षी बनेका छौँ। हाम्रो सानो प्रयासले विश्वभर छरिएका नेपाली साहित्यकारहरूलाई एउटै भावनात्मक सूत्रमा बाँध्न सफल भएको देख्दा संस्थाको तर्फबाट हामी अत्यन्त गौरवान्वित छौँ।“
नतिजा घोषणा तथा प्रतियोगिता समापन कार्यक्रमको अन्त्यमा गैर–आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जयन्ती गुरुङले भन्नु भयो, “आजको दिन, अर्थ डे (पृथ्वी दिवस) विश्वभरि वातावरण संरक्षणप्रति चेतना जगाउने, जिम्मेवारी बोध गराउने र पृथ्वीप्रति हाम्रो कर्तव्यलाई पुनः स्मरण गराउने विशेष अवसरका रूपमा मनाइन्छ। प्राकृतिक स्रोतहरूको संरक्षण, प्रदूषण नियन्त्रण, र पृथ्वीलाई सुरक्षित राख्ने सामूहिक प्रतिवद्धताका लागि यो दिवसले हामी सबैलाई प्रेरित गर्दछ। “प्रतियोगिताको उद्देश्यबारे प्रष्ट्याँउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “ गैर–आवासीय नेपाली संघ हङकङले साहित्यलाई माध्यम बनाउँदै वातावरणीय चेतनालाई अझ प्रभावकारी रूपमा समाजमा प्रवाह गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको हो।“
प्रतियोगिताका परिकल्पनाकार विनय शाहले शब्द, भावना र सिर्जनशीलता मार्फत पृथ्वीप्रतिको माया व्यक्त गर्ने यो अभियानमा साथ सहयोग गर्नुहुने थप स्रष्टाहरु जानु काङबाङ (हङकङ), दिपा एवाई राई (हङकङ) तथा सम्पूर्ण सहभागिहरूलाई म हृदयदेखि नै उच्च सम्मान प्रकट गर्नुभयो। विजयी प्रतिभाहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै, यस प्रकारको साहित्यिक प्रतियोगितालाई गैर–आवासीय नेपाली संघ हङकङले वर्षेनी निरन्तरता दिने प्रतिबद्धता यहाँहरू समक्ष सार्वजनिक गर्न पाउँदा अत्यन्तै गर्व र खुशी लागेको बताए ।
प्रतियोगितामा पुरस्कृत रचनाकारहरूलाई गैर–आवासीय नेपाली संघ हङकङले १५ दिन भित्र उहाँहरूको पुरस्कार राशि तथा प्रमाण पत्र प्रदान गरिसक्ने बताएको छ । साथै पहिलो तीन स्थानमा आउन सफल रचना तथा बीस सान्त्वना पुरस्कारद्वारा सम्मानित रचनाहरूको “ई–बुक” प्रकासन गर्ने बताईएको छ ।




