विश्व चौतारी संगमकाे दोस्रो श्रृङ्खला सम्पन्न
३१ डिसेम्बर, टाेकियाे । विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)जापान शाखा र साहित्यिक चौतारी नेपाल जापान शाखाको संयुक्त आयोजनामा चारजना स्रष्टाका विशेष गजल र कविता वाचनसँगै चार कृति विमोचन सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन राष्ट्र गानका साथमा पानसमा दीप प्रज्ज्वलनसहित नेपाली राजदूताबास जापानका महामहिम राजदूत एवम् प्रमुख अतिथि डा. दुर्गा बहादुर सुवेदी र कार्यक्रमका सभापति सरिता ढकालले संयुक्त रूपमा समुद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिया शाहीले दिइन् ।
आइतबार सम्पन्न टोकियोको ओकुवो स्थित सोलमारी मुराहलमा भएको कार्यक्रममा गजलकार समर प्रेम, शारदा पाण्डे, शिवराज बुल्तिमको विशेष गजल वाचन र कवि लक्ष्मी अर्गेजा मगरको विशेष कविता वाचनका साथै राजन घलेको मारूनी, अविनाश सापकोटाको अग्राख, भोजराज घिमिरेको नाद र कुशलनाथ योगीको कोहिनुर विमोचन सँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
विशिष्ट अतिथि एनआरएन जापानका उपाध्यक्ष सुवास लामिछाने, विशेष अतिथि खाबुसिकीगाइसा मानवियाका प्रोप्राइटर विशाल डल्लाकोटी, विनेसाम जापानका संरक्षक तथा निर्वतमान अध्यक्ष देवी बहादुर ईङ्नाम, साहित्य चौतारी नेपाल जापानका संरक्षक तथा निवर्तमान अध्यक्ष अमरदेव बास्तोला, विनेसाम जापानका सल्लाहकार युको ओकामोतो, अतिथि किराया कान्तो जापानका वरिष्ठ सल्लाहकार रामकुमार चाम्लिङ, मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, ग्लोबल फोरमका अध्यक्ष मुना सुनार , कान्तो गुल्मेली समाजका अध्यक्ष कृष्ण भण्डारी, अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, अनेसास जापानका उपाध्यक्ष दीपा घिमिरे लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत डा. सुवेदीले साहित्य सिर्जना कथा, कविता, गजल लेखन गरेर मात्रै हुँदैन पाण्डुलिपि कृतिको रूपमा चाँडै प्रकाशन ल्याउन सुझाव दिए भने विशेष गजल र कविता वाचन गरेका चारैजना स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिँदै काँधमा गजल बोकेर हिँड्ने आजका मोतीरामको संज्ञा दिए । आगामी दिनमा संघ संस्थाले केही न केही संकलन गरेर त्रैमासिक, अर्धवार्षिक नभए वार्षिक भएपनि स्मारिका मुखपत्र प्रकाशन गर्दा ईतिहास र संस्थाको दस्तावेज बन्ने कुरा बताए । त्यति मात्रै होइन उहाँले जापानमा दुईवटा नेपाली पुस्तकालयको उद्घाटन गरी पाँच पाँच सय प्रति पुस्तक उपलब्ध गराएको बताउँदै एक पटक ती पुस्तकालयमा पुग्न आग्रह गरे ।
त्यसैगरी खुल्ला रचना वाचन तर्फ ओजस्वी जिसी, गृष्मा पौडेल, अविरल पाण्डे, प्रमोद श्रेष्ठ, प्रविन लामा, दिपा घिमीरे, नेत्र पाण्डे लगायतले वाचन गरेका थिए । कार्यक्रमलाई आकर्षक रूपमा विनेसाम जापान शाखाकी सह-सचिव सयपत्री थुलुङले सञ्चालन गरेकी थिइन् ।
– रविन्द्र दिखुक्पा राई बाट