समाचार

इलामेली समाज हङकङद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

०६ जनवरी, इलाम । इलामेली समाज हङकङले गत असोज महिनामा इलाम जिल्लामा आएको बाढी–पहिरोका कारण ज्यान गुमाएका परिवार तथा घाइते पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग आज इलाम अरणिको सङ्ग्रहालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

संस्थाले इलाम जिल्लाभरका बाढी–पहिरो पीडितका लागि कुल १० लाख ४९ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भीम चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

राहत सहजीकरणमा इलामेली समाज हङकङका पूर्व अध्यक्ष दलबहादुर गुरुङ, संस्थाका सदस्य शिशिर राई तथा इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भूमिका निर्वाह गर्नुभएको थियो ।

सन २००१ मा स्थापना भएको इलामेली समाज हङकङले प्राकृतिक विपद्, आकस्मिक दुर्घटना, स्वास्थ्य उपचार सहयोग, शिक्षा तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । संस्थाले बाढी–पहिरो, आगलागी, महामारीलगायत विपद्का बेला पीडित परिवारलाई राहत तथा आर्थिक सहयोग गर्दै आएको छ भने विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग, उपचारको अभावमा रहेका बिरामीलाई आर्थिक सहायता तथा समाजसेवाका विविध मानवीय कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । संस्थाका हालका अध्यक्ष वसन्त विपीन हुनुहुन्छ ।

Related Articles

Back to top button