
२४ डिसेम्बर, इटहरी । उज्यालो नेपाल पार्टी प्रदेश एक समितिले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेकाे छ । प्रदेश समितिले इटहरीमा दाेस्राे बैठक राख्दै चुनावका लागि १४ वटै जिल्लाबाट सम्भावित उम्मेदवारहरूकाे नामावली सङ्कलन गर्दैछ ।
बुधबार तामाङ घेदुङ इटहरी -५ को सभाहलमा भएको बैठकले आगामी चुनाव, संगठन विस्तार एवम् मन्त्री कुलमानको घिसिङकाे उपस्थितिमा केन्द्र र प्रदेश स्तरीय कार्यक्रम गर्ने तय भएको प्रदेश संयाेजक विराज आङ्देम्बेले जानकारी गराए ।
त्यस्तै, प्रदेश समिति प्रवक्ता केदार धिमालले सबै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबाट पहिलो चरणमा उम्मेदवारहरूकाे नाम सङ्कलन गरिरहेको बताए । निर्वाचन आयोगकाे निर्वाचन तालिकाअनुसार पुस १३ गतेभित्र समानुपातिक सूचीका उम्मेदवारहरूकाे नामावली पेश गरिसक्नुपर्ने छ । धिमालले प्रत्यक्ष प्रणालीअन्तर्गत नामहरू पनि आइसकेको बताए । बैठकलाई पार्टी केन्द्रीय सदस्यहरू प्रा.डा. महेन्द्र लाओती, जेन्टल लाओती र मित्रसिङ याेञ्जनकाे समेत उपस्थिति रहेको थियोे ।




