इमरान खानका बहिनीहरूलाई अडियाला जेलमा भेट्न नदिएपछि तनाव

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका बहिनीहरूले अडियाला जेलमा रहेका आफ्ना भाइसँग भेट गर्न नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । एक वर्षदेखि भेट्ने प्रयास असफल भएपछि र जेल प्रशासनले बारम्बार सुरक्षा कारण देखाएर रोकेपछि तनाव बढेको हो ।
यसैबिच सामाजिक सञ्जालमा इमरान खानको स्वास्थ्य र ठेगानाबारे अफवाह फैलिएको छ ।
मंगलबार राति इमरान खानका बहिनीहरू अलिमा खान, नोरिन नियाजी र डा. उज्मा खान आफ्ना समर्थकहरूसँगै जेलबाहिर धर्नामा बसेका थिए । उनीहरूले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा पञ्जाब प्रहरीले अँध्यारो पारेर लाठीचार्ज गरेको आरोप लगाएका छन् । ७१ वर्षीया नोरिन खानले आफूलाई कपालमा समातेर सडकमा घिसारिएको र अन्य महिलाहरूसँग पनि दुर्व्यवहार गरिएको दाबी गरेकी छन् ।
अदालतको आदेशको अवहेलना
इस्लामाबाद उच्च अदालतले मार्च २०२५ मा इमरान खानलाई परिवार र वकिलहरूसँग नियमित भेटघाटको अनुमति दिएको थियो, तर जेल प्रशासनले उक्त आदेशको पालना नगरेको बताइएको छ । अक्टोबर २०२५ मा अदालतले पुनः भेटघाटहरू पुनः सुरु गर्न निर्देशन दिए पनि उनका बहिनीहरूले अहिलेसम्म एक पटक पनि भेट्न पाएका छैनन् ।
विगतमा पनि दुर्व्यवहार
गत हप्ता पनि रावलपिण्डी प्रहरीले इमरान खानका बहिनीहरूसँग दुर्व्यवहार गरेको थियो । उनीहरूलाई सडकमा घिसारेर जबरजस्ती हिरासतमा लिइएको मिडिया रिपोर्टहरूमा उल्लेख छ । यो घटना उनीहरू इमरान खानसँगको साप्ताहिक भेटका लागि अडियाला जेल पुगेका बेला भएको थियो, तर उनीहरूलाई भेट्न दिइएन ।
इमरान खानको पार्टी पीटीआईले ‘एक्स’ मार्फत एक पोस्टमा बताएअनुसार अलिमा खान, नोरिन नियाजी र डा. उज्मा खान जेलबाहिर शान्तिपूर्ण रूपमा बसिरहेका बेला प्रहरीले उनीहरूलाई जबरजस्ती उठाउने प्रयास गरेको थियो ।
यस घटनाले पाकिस्तानको राजनीतिक वातावरणमा थप तनाव बढाएको छ ।




