खुल्न सकेन मुग्लिन–नारायणगढ सडक, आजका लागि पहिरो हटाउने काम स्थगित

चितवन । हिजो साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार, हिजो साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। ‘हामीसँग चारवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरिएको छ, तर माथिबाट ढुंगा खसिरहेकाले काम निरन्तर गर्न सकिएको छैन,’ डिभिजनले शनिबार साँझ जानकारी दिएको छ।
आज दिनभर पहिरो पन्छाउने प्रयास गर्दा पनि जोखिम कायमै रहेकाले आजका लागि काम स्थगित गरिएको कार्यालयले छ। पहिरो पन्छाउने क्रममा ठुला ढुंगाहरू खस्दा एक्साभेटर चालक दुर्घटनाबाट जोगिएको पनि डिभिजनले जनाएको छ।
रातिको समयमा काम गर्न असुरक्षित हुने भएकाले भोलि बिहानै करिब ४ बजेदेखि पुनः पहिरो हटाउने कार्य सुरु गरिने भएको छ। यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ ।




