समाचार

स्वर्णिम साहित्य समाजकाे छैटाैँ साधारणसभा

पुस्तक चर्चादेखि गार्मेन्ट सम्झाैतासम्म, शरण लिम्बु नयाँ अध्यक्ष

२० सेप्टेम्बर, कालाबन्जार । स्वर्णिम साहित्य समाज सुनसरीको छैटौं साधारणसभा शनिबार सम्पन्न भएको छ । कृति परिचर्चा, पुस्तक प्रदर्शनी, कार्य समिति चयन, आन्तरिक सम्मानसँगै सभा सम्पन्न भएको हाे ।

बराहक्षेत्र नगरपालिकाकाे वडा नम्बर ५ काे सभाहलमा भएको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् साहित्यकार सुमित्रा वाङ्देल ‘चेली’काे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । उनले समाजकाे हित र राष्ट्रकाे पहरेदारीका लागि सर्जकहरू लागिरहेको भन्दै सचेतना फैलाउनु अक्षरका सारथीहरूकाे भूमिका रहेको बताइन् ।

प्राज्ञ एवम् साहित्यकार सुमित्रा वाङ्देल ‘चेली’ ।

उनले कार्यक्रममा गजलकार अच्युत भट्टराईलाई ‘आन्तरिक स्वर्णिम साहित्य सम्मान-२०८२‘ले समेत सम्मानित गरिन् । भट्टराईलाई सम्मान पत्रसहित नगद पाँच हजार रूपैयाँ समेत प्रदान गरिएको थियोे ।

आन्तरिक सम्मान ग्रहण गर्दै गजलकार अच्युत भट्टराई ।

त्यसैगरी, कवि भीम विरही राईकाे कविता कृृति ‘बारुदले काेरेका अक्षरहरू’ उपर अन्तरसंवाद कार्यक्रम राखिएको थियोे । प्राध्यापक रमेश काफ्ले, कवि एवम् अनुवादक चन्द्र गुरुङले कृति उपर बाेले । कवि गुरुङले राईकाे कवितामा भाव पक्ष बलियाे रहेको बताए । उनले भारतीय सैनिकहरूले सग्लो कृति कम दिइरहेको समयमा भीम विरहीकाे कृतिले इँटा थपेको जनाए । त्यस्तै, काफ्लेले नेपाली जनजीवनकाे वास्तविकतासँगै पूर्वीय दर्शनको षट्दर्शन रहेको उल्लेख गरे ।

पुस्तक अन्तर संवादमा सर्जक र वक्ताहरू ।

२८ वर्ष भारतीय गाेरखा सैनिकका रूपमा काम गरेर सुबेदार पदमा अवकाश पाएका राईले कृतिमा आफ्नो करिब तीन दशकको सैन्य जीवनकाे उतारचढावलाई उतारेको बताए । संवादलाई कवि छविना लुङ्गेली मगरले गरेकी थिइन् । विरहीकाे याे तेस्रो कृति हाे । सङ्ग्रहमा ३८ कविताहरू समावेश छन् । जसलाई अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले प्रकाशन गरेको हाे ।

सभाकै अवसर पारेर बराह गार्मेन्टका प्राेप्राइटर अशाेक चाैधरी र स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्सालीले वार्षिक पचास हजार रूपैयाँका दरले तीन वर्षका लागि सम्झाैता पत्रमा हस्ताक्षर गरे । सम्झाैताअनुसार गार्मेन्टले समाजका लागि बराहक्षेत्रकाे लाेगाे अङ्कित टिसर्ट र अन्य सामग्री उपलब्ध गराउनेछ ।

बराह गार्मेन्टसँगकाे साझेदारीमा तयार भएको नयाँ टिसर्ट सार्वजनिक गर्दै प्रमुख अतिथि, समाज र गार्मेन्टका प्रतिनिधि ।

सभामा विशिष्ट अतिथि वडा नम्बर ५ का अध्यक्ष राेहित काफ्लेले, अतिथिहरू विश्व नेपाली साहित्य महासङ्घका निवर्तमान अध्यक्ष एवम् अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’, देवेन्द्र विष्ट, पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्ताेष चाैलागाई लगायतले बाेलेका थिए ।

स्वर्णिम साहित्य समाजका निवर्तमान अध्यक्ष प्रकाश दिप्साली ।

यसैगरी, छैटाैँ साधारणसभाले शरण लिम्बुकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । त र्यसमितिकाे उपाध्यक्षमा लक्ष्मण कटुवाल, सचिवमा सविता फागाे चाेङवाङ, सहसचिवमा शारदा निराैला, काेषाध्यक्षमा दीपा मग्रान्ति । त्यस्तै, सदस्यहरूमा अच्युत भट्टराई, मनाेज विष्ट, छविना लुङ्गेली मगर, समीर चन्द्रवंशी, वर्षा भण्डारी रहेका छन् ।

छैटौं साधारणसभाले चयन गरेको नयाँ कार्य समिति ।

सभामा निवर्तमान अध्यक्ष प्रकाश दिप्सालीले सांगठनिक प्रतिवेदन र  काेषाध्यक्ष शारदा निराैलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष शरण लिम्बुले स्वागत मन्तव्य राखेका थिए । साधारणसभाकाे सञ्चालन सचिव लक्ष्मण कटुवालले गरेका थिए । साेही अवसरमा पुस्तक प्रदर्शनी पनि राखिएको थियोे । बराहक्षेत्र नगरपालिकाकाे साहित्यिक गतिविधि सञ्चालनमा उल्लेख्य याेगदान दिइरहेको समाजको स्थापना १८ वर्षअघि भएको हाे ।

Related Articles

Back to top button