मनोरञ्जन

लन्डन लेष्टरस्क्वायर आइम्याक्समा पहिलोपटक नेपाली फिल्म प्रिमियर

लन्डन । हलिउड र बलिउड सिनेमा प्रिमियर गरिरहने लन्डनको केन्द्र लेष्टरस्क्वायरस्थित आइम्याक्स सिने वर्ल्ड जति प्रतिष्ठित छ, महंगो पनि त्यति नै छ ।

उक्त मल्टिप्लेक्स सिनेमा चेनले अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमाहरु देखाउंछ टु र थ्रीडी फरम्याटमा ।

हलिउड बलिउड सिनेमासंगमात्र परिचित आइम्याक्समा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि गरिन्छ । आउंदो डिसेम्बर दोश्रो साता ब्रिटिश फिल्म फेस्टिबल यहीं हुंदैछ ।

७२१ सिट क्षमताको अत्याधुनिक सिनेम्याटिक प्रविधियुक्त आइम्याक्स सिने वर्ल्ड आइतबार भने भिन्न दर्शक र फिल्म स्वागत गर्न व्यस्त रह्यो ।

उक्त सिनेमा हल झण्डै ७४० नेपाली दर्शकले भरिभराउ थियो र नेपाली फिल्मको इतिहासमा नयां अध्याय थप्दै थियो ‘गोर्खा वारियर’ ले ।

पूर्व गोर्खा मिलन चाम्सको निर्देशन र पूर्व गोर्खा रितेश चाम्सको लिड रोल रहेको ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियर शोले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार सम्भावनालाई थप उजागर गरेको छ ।

आइम्याक्समा फिल्म देखाउने आफ्नो २० वर्ष अघिदेखिको सपना पुरा भएको भन्दै निर्देशक मिलन चाम्स दंग थिए । ‘दर्शकहरुको उत्साहजनक उपस्थिति देखेर म निकै खुशी छु’, उनले प्रतिक्रिया दिए, ‘हामीले फिल्म बनाउन पनि कत्ति सम्झौता गरेका थिएनौं, अहिले प्रिमियरमा पनि गरेनौं । यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको ढोका खोलेको छ ।’

उनले प्रिमियर शोको खर्चमात्र करिब डेढ करोड रुपैयां भएको दावी गरे । मलेसियाको जंगलमै छायांकन गरिएको फिल्म निर्माणमा करिब १४ करोड रुपैयां खर्च भएको दावी निर्माण पक्षको छ । यसमा नेपाल र भारतका प्राविधिकले काम गरेका छन् ।

‘ब्राण्डिङ’ महत्वपूर्ण भएको जनाउंदै मिलनले अरु नेपाली फिल्म पनि आइम्याक्समा आउन् भन्ने आफ्नो चाहना रहेको सुनाए ।

‘मलाया इमर्जेन्सी’ पनि भनिने ब्रिटिश शासन विरुद्धको स्वतन्त्रता युद्धमा ब्रिटिश सेनासंगै गोर्खाले कम्युनिष्ट लडाकुहरुविरुद्ध लडेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button